देश

सुदूरपश्चिम सरकारमा कांग्रेसको बलियो उपस्थितिः तीन मन्त्री र दुई राज्यमन्त्रीले लिए सपथ

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारमा मन्त्रिपरिषद् पुनर्गठन गर्दै नेपाली कांग्रेसले आफ्नो सहभागिता थप मजबुत बनाएको छ। सोमबार गरिएको पुनर्गठनअनुसार कांग्रेसबाट तीन मन्त्री र दुई राज्यमन्त्री सरकारमा समावेश भएका छन्। प्रदेश प्रमुख नजिर मियाँले नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्। नयाँ जिम्मेवारी पाउनेहरूमा बेलबहादुर रानामगर सामाजिक विकास मन्त्री, विक्रमसिंह धामी आर्थिक मामिला मन्त्री तथा मानबहादुर रावल उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नियुक्त भएका छन्।

त्यसैगरी मधु भारती सामाजिक विकास राज्यमन्त्री र जुना दानी आर्थिक मामिला राज्यमन्त्री बनेकी छन्। दुवै राज्यमन्त्रीलाई मुख्यमन्त्री कमलबहादुर शाहले शपथ गराएका थिए। प्रदेश सरकारको यो पुनर्गठनलाई सत्ता साझेदार दलभित्र शक्ति सन्तुलन मिलाउने प्रयासका रूपमा हेरिएको छ। पछिल्लो समय प्रदेश सरकारको प्रभावकारिता, मन्त्रालय सञ्चालन र राजनीतिक समन्वयलाई लिएर उठिरहेका प्रश्नबीच गरिएको हेरफेरले कांग्रेसभित्रको आन्तरिक समीकरणसमेत प्रतिबिम्बित गरेको विश्लेषण गरिएको छ।

नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीहरूले सोमबारदेखि नै कार्यभार सम्हाल्ने जनाइएको छ। उनीहरू समक्ष प्रदेशको विकास गति, बजेट कार्यान्वयन र सेवा प्रवाह सुधार मुख्य चुनौतीका रूपमा रहने देखिन्छ। प्रदेश सरकारमा पटक–पटक हुने मन्त्रिपरिषद् हेरफेरले राजनीतिक स्थायित्वमाथि प्रश्न उठ्ने गरे पनि दलहरू भने यसलाई कार्यसम्पादन प्रभावकारी बनाउने नियमित प्रक्रिया बताउँदै आएका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *