देश

रवि लामिछानेले दिए मोदीलाई नेपाल भ्रमणको निम्तो

काठमाडौं । भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणका लागि औपचारिक निम्तो दिएका छन् । दुई नेताबीच भएको भेटवार्ताका क्रममा नेपाल–भारत सम्बन्ध, उच्चस्तरीय भ्रमण तथा आपसी सहकार्यका विषयमा छलफल भएको जनाइएको छ ।

भेटमा प्रधानमन्त्री मोदीले आफू नेपाल भ्रमणप्रति सकारात्मक रहेको उल्लेख गर्दै उपयुक्त समय मिलाएर चाँडै नेपाल आउने इच्छा व्यक्त गरेको भ्रमण टोलीका एक सदस्यले जानकारी दिए । स्रोतका अनुसार मोदीको सम्भावित नेपाल भ्रमणका लागि आगामी दिनमा नेपाल सरकारको तर्फबाट औपचारिक निमन्त्रणा पठाउने विषयमा समेत छलफल हुन सक्नेछ । सभापति लामिछाने स्वदेश फर्किएपछि यसबारे थप राजनीतिक परामर्श हुने बताइएको छ ।

यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह प्रधानमन्त्री बनेपछि प्रधानमन्त्री मोदीले बधाई सन्देशसँगै भारत भ्रमणको निम्तो दिएका थिए । नेपालस्थित भारतीय दूतावासमार्फत पठाइएको उक्त निम्तोलाई प्रधानमन्त्री बालेन शाहले सकारात्मक रूपमा लिएको बताइएको थियो । दुवै देशबीच भ्रमणको तयारीबारे प्रारम्भिक छलफल भए पनि पछिल्लो राजनीतिक परिस्थितिका कारण प्रक्रिया अघि बढ्न सकेको छैन । प्रधानमन्त्री बालेन शाहले एक वर्षसम्म विदेश भ्रमण नगर्ने संकेत दिएपछि उनको भारत भ्रमण तत्काल नहुने आकलन गरिएको छ ।

नेपालका प्रधानमन्त्रीले पदभार सम्हालेपछि पहिलो विदेश भ्रमण भारतबाट सुरु गर्ने परम्परा लामो समयदेखि रहँदै आएको छ । यद्यपि पछिल्ला केही वर्षमा त्यो अभ्यासमा परिवर्तन देखिएको छ । भारतीय प्रधानमन्त्री मोदीले हालसम्म चार पटक नेपाल भ्रमण गरिसकेका छन् । उनले सन् २०१४ मा पहिलोपटक नेपाल आएर संसद्लाई सम्बोधन गरेका थिए । त्यसपछि सोही वर्ष सार्क सम्मेलन, सन् २०१८ मा जनकपुर भ्रमण तथा सन् २०२२ मा लुम्बिनी भ्रमण गरेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *