काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भएको भेटवार्तालाई सकारात्मक र उपलब्धिमूलक भएको बताएका छन् । नयाँदिल्लीमा करिब एक घण्टा भएको छलफलपछि लामिछानेले सामाजिक सञ्जाल एक्समार्फत नेपाल–भारत सम्बन्धलाई नयाँ चरणमा अघि बढाउने विषयमा महत्वपूर्ण संवाद भएको उल्लेख गरेका हुन् ।
भारतीय प्रधानमन्त्री मोदीको पोस्ट साझा गर्दै लामिछानेले आफू विकास, डिजिटल पूर्वाधार र क्षेत्रीय सहकार्यमा आधारित नयाँ सोचसँग सहमत रहेको जनाएका छन् । उनले नेपाल–भारत सम्बन्ध अब परम्परागत सीमाभन्दा माथि उठेर ‘विकास–कूटनीति’ र साझा समृद्धितर्फ केन्द्रित हुनुपर्ने धारणा व्यक्त गरेका छन् ।
लामिछानेका अनुसार छलफलमा दुई देशबीच डिजिटल करिडोर, सहज कनेक्टिभिटी, आपसी विश्वास र जनस्तरको सहकार्यलाई अझ सुदृढ बनाउने विषयमा विचार आदानप्रदान भएको थियो । उनले साझा सभ्यता, सांस्कृतिक सम्बन्ध र आधुनिक पूर्वाधारको संयोजनमार्फत भविष्यको साझेदारी निर्माण गर्न सकिने उल्लेख गरेका छन् ।
रास्वपा सभापतिले नेपाल र भारतका जनताको साझा हित र समृद्धिका लागि नयाँ सम्भावनाहरूलाई व्यवहारमा उतार्न आफ्नो पार्टी प्रतिबद्ध रहेको पनि बताएका छन् । यद्यपि, भेटवार्ताका सबै विषय सार्वजनिक नगरिए पनि लामिछानेले प्रयोग गरेका ‘विकास–कूटनीति’, ‘डिजिटल करिडोर’ र ‘साझा समृद्धि’ जस्ता शब्दावलीले राजनीतिक वृत्तमा नयाँ चर्चा सुरु भएको छ । विशेषगरी करिब एक घण्टा लामो भेटलाई रास्वपाको अन्तर्राष्ट्रिय पहुँच र भावी राजनीतिक दिशासँग जोडेर समेत हेरिएको छ ।
राजनीतिक विश्लेषकहरूका अनुसार, भारत भ्रमणका क्रममा लामिछानेले भारतीय शीर्ष नेतृत्वसँग गरेको संवादले नेपाल–भारत सम्बन्धबारे रास्वपाको दृष्टिकोण र भावी कूटनीतिक प्राथमिकताको संकेत दिएको देखिन्छ ।




