नेपालमा धुम्रपान तथा सुर्तीजन्य पदार्थको प्रयोग सार्वजनिक स्वास्थ्यका लागि दीर्घकालीन चुनौती बनेको छ । काठमाडौं महानगर प्रमुख बालेन्द्र शाह नेतृत्वको स्थानीय सरकारदेखि संघीय तहसम्म ‘धुम्रपानमुक्त समाज’ बनाउने बहस निरन्तर उठ्दै आए पनि व्यवहारिक कार्यान्वयन अझै कमजोर देखिन्छ । होटल,पसल,सार्वजनिक ठाउँ, विद्यालय वरिपरी जताततै धुुम्रपान प्रयोगकर्ता ,र व्यापारीहरुको भिड लाग्ने गरेको छ । २१ औँ शताब्दी भनेको शिक्षाको ज्योती छर्ने युग हो । धुँवा पिएर आफैँलाई र सबै क्षेत्रलाई असर पार्ने काम नै यही युगका किन बढिरहेको छ ।
काठमाडौं महानगरको मेयर हुँदा उनले सार्वजनिक स्थलहरूमा चुरोट तथा सुर्तीजन्य पदार्थको प्रयोग र बिक्री वितरणमा पूर्ण रूपमा रोक लगाएका थिए। अटेरी गर्ने पसल तथा व्यवसायहरूमाथि कडा जरिवाना र अनुगमनको व्यवस्था गरिएको थियो ।सुर्तीजन्य पदार्थको नियन्त्रण र कर नीतिमार्फत उपभोग घटाउने दीर्घकालीन राष्ट्रिय लक्ष्यका साथ अघि बढाउने विषयमा बालेन सरकारको रणनीति के छ ? नेपालमा पछिल्लो समयमा बालबालिकादेखि वृद्ध सबैले गाउदेखि शहरसम्म धुम्रपान सेवनको कल्चर बढ्दै जाँदा धेरै प्रश्न उठ्न थालेका छन् । स्कुल उमेरका विद्यार्थीहरुले चुरोट सेवन गरेको हेर्दा झन दुःख लाग्ने प्रश्न उठ्छन् । अहिले जेनजी आन्दोलपछिको निर्वाचनबाट बालेन प्रधानमन्त्रीका रुपमा सरकारमा छन् ।
धुम्रपान तथा सुर्तीजन्य पदार्थ नियन्त्रणको विषय कार्यकारी प्रमुख (प्रधानमन्त्री) को एक्लो निर्णयभन्दा पनि ऐन कानुनको कडाइ र राष्ट्रिय स्वास्थ्य नीतिको परिपालनामा निर्भर गर्दछ । स्वास्थ्य क्षेत्रका तथ्याङ्कअनुसार सुर्तीजन्य पदार्थ सेवनले नेपालमा क्यान्सर, मुटु तथा श्वासप्रश्वाससम्बन्धी रोगहरूको प्रमुख कारणको रूपमा काम गरिरहेको छ । धुम्रपान गर्ने व्यक्तिमा फोक्सोको क्यान्सरको जोखिम धेरै गुणा बढी हुने चिकित्सकहरूको चेतावनी छ ।
विश्व स्वास्थ्य संगठन (WHO) का अनुसार सुर्तीजन्य पदार्थ सेवनका कारण विश्वभर प्रत्येक वर्ष ८० लाखभन्दा बढी मानिसको मृत्यु हुने गर्छ, जसमा करिब १२ लाख मानिस दोस्रो–हात धुवाँ (second-hand smoke) का कारण प्रभावित हुन्छन् । नेपालमा पनि घर, सार्वजनिक स्थल र कार्यस्थलमा हुने धुवाँले धूम्रपान नगर्ने व्यक्ति, विशेषगरी बालबालिका र गर्भवती महिलामा प्रत्यक्ष असर पारिरहेको छ ।
विशेषज्ञहरूका अनुसार बालबालिकाहरू धुम्रपानको सबैभन्दा ठूलो अप्रत्यक्ष शिकार हुन् । घरभित्र वा सार्वजनिक स्थानमा हुने धुवाँले उनीहरूमा दम, फोक्सो कमजोर हुने समस्या, र भविष्यमा दीर्घकालीन रोगको जोखिम बढाउँछ । साथै, किशोर उमेरमा देखिने धुम्रपानको लत सामाजिक प्रभाव र गलत संगतबाट अझै तीव्र रूपमा बढ्ने चिन्ता पनि व्यक्त गरिएको छ । धुम्रपान केवल स्वास्थ्य समस्या मात्र होइन, वातावरणीय चुनौती पनि हो । चुरोटका फिल्टर र प्लास्टिकजन्य अवशेषले फोहोर व्यवस्थापनमा थप दबाब सिर्जना गर्छ । सार्वजनिक स्थानमा फालिने बटहरूले माटो र पानी दुबैलाई प्रदूषित गर्ने विज्ञहरू बताउँछन् ।
धुम्रपानले सामाजिक संस्कारमा समेत नकारात्मक असर पारेको देखिन्छ । सार्वजनिक स्थानमा धुम्रपान गर्ने बानीले अनुशासन र स्वास्थ्य चेतनामा कमी ल्याउने मात्र होइन, नयाँ पुस्तामा गलत अभ्यास हस्तान्तरण हुने जोखिम पनि बढाउँछ । नेपालमा सुर्तीजन्य पदार्थ नियन्त्रणसम्बन्धी कानुन भए पनि कार्यान्वयन कमजोर रहेको सरोकारवालाहरूको भनाइ छ । सार्वजनिक स्थानमा धुम्रपान निषेध, कर वृद्धि, चेतनामूलक अभियानजस्ता प्रयास भए पनि पूर्ण रूपमा ‘धुम्रपानमुक्त नेपाल’ बनाउने लक्ष्य अझै टाढा देखिन्छ ।
विशेषज्ञहरूका अनुसार स्थानीय सरकारदेखि संघीय तहसम्म समन्वित नीति, कडा कार्यान्वयन र जनचेतना अभियानलाई प्राथमिकतामा राखे मात्र धुम्रपानमुक्त समाजको लक्ष्य सम्भव हुन सक्छ ।
धुम्रपान (चुरोट, सुर्ती, बिँडी आदि) सेवनले स्वास्थ्यमा गम्भीर र दीर्घकालीन असर पार्छ। यसले शरीरका धेरै अंगलाई क्षति पुर्याउने भएकाले विश्वभर यसलाई रोक्नुपर्ने प्रमुख स्वास्थ्य जोखिम मानिन्छ। धुम्रपान फोक्सोको क्यान्सरको प्रमुख कारण हो। यसले मुख, घाँटी, स्वरयन्त्र, किड्नी र ब्लाडर (मूत्रथैली) का क्यान्सरको जोखिम पनि बढाउँछ।चुरोटमा रहेको निकोटिन र रसायनले रक्तनली साँघुरो बनाउँछ, जसले गर्दा हृदयघात ,उच्च रक्तचाप,स्ट्रोक (पक्षाघात)जस्ता समस्या बढ्छन्।दीर्घकालीन खोकी,दम बढ्ने,दीर्घ श्वासप्रश्वास रोग लाग्ने,फोक्सोको क्षमता घट्ने,धुम्रपानले शरीरको रोगसँग लड्ने क्षमता कमजोर बनाउँछ, जसले संक्रमण छिटो लाग्ने सम्भावना बढाउँछ। पुरुष र महिलामा दुवैमा प्रजनन क्षमता घट्ने, गर्भपतनको जोखिम बढ्ने र बच्चामा जन्मजात समस्या देखिन सक्ने सम्भावना हुन्छ।
धुम्रपान केवल स्वास्थ्य समस्या मात्र होइन, आर्थिक बोझ पनि हो। जब परिवारमा धुम्रपान गर्ने सदस्य हुन्छ, तब, दैनिक मासिक खर्च चुरोटमै ठूलो भाग जान्छ । दीर्घकालीन रोगका कारण उपचार खर्च अत्यधिक बढ्छ । काम गर्ने क्षमता घट्छ (उत्पादकत्व कम हुन्छ) यसले पहिले नै कमजोर आर्थिक अवस्थाका परिवारलाई अझ गरिबीतर्फ धकेल्न सक्छ। नेपालमा स्वास्थ्य उपचार खर्चमध्ये ठूलो हिस्सा दीर्घ रोग मा जान्छ, जसमा धुम्रपानसँग सम्बन्धित रोग प्रमुख कारणमध्ये एक मानिन्छ। धुम्रपानले शरीरका लगभग सबै प्रमुख अंगलाई असर गर्छ र क्यान्सरदेखि मुटु रोगसम्मको जोखिम बढाउँछ। साथै, यसले व्यक्तिगत मात्र होइन, परिवारको आर्थिक अवस्था पनि कमजोर बनाउँदै गरिबीको चक्रलाई तीव्र बनाउन सक्छ।




