काठमाडौं । नेपालको सबैभन्दा पुरानो लोकतान्त्रिक दल नेपाली कांग्रेस यतिबेला फेरि एकपटक आन्तरिक तनाव, गुटगत प्रतिस्पर्धा र नेतृत्व संघर्षको चक्रमा फसेको देखिन्छ। बाहिरबाट हेर्दा कांग्रेस सत्ताको केन्द्रमा छ, सरकार सञ्चालनमा निर्णायक भूमिका खेलेको छ, तर भित्रभित्रै पार्टी वैचारिक अन्योल, पुस्तान्तरणको दबाब र नेतृत्वप्रति बढ्दो असन्तुष्टिको सामना गरिरहेको छ। यही कारण अहिले राजनीतिक वृत्तमा एउटा प्रश्न तीव्र रूपमा उठ्न थालेको छ— कांग्रेस जुटको दिशामा छ कि फुटको संघारमा ?
कांग्रेसले साझेदारीले संगठनलाई बलियो बनाएकोभन्दा उल्टै थप विभाजित बनाएको आरोप कार्यकर्तामाझ सुनिन थालेको छ। सरकारमा सहभागी हुने, मन्त्री चयन गर्ने, राजनीतिक नियुक्ति बाँडफाँट गर्ने विषयमा पार्टीभित्रै असन्तुष्टि बढ्दै गएको छ।
पार्टीको एउटा पंक्ति नेतृत्वले सीमित समूहको वरिपरि शक्ति केन्द्रित गरेको आरोप लगाइरहेको छ भने अर्को पक्ष असन्तुष्ट नेताहरूलाई “सत्ताबाट वञ्चित भएकाहरूको प्रतिक्रिया”का रूपमा चित्रित गरिरहेको छ। यसले कांग्रेसभित्रको गुट राजनीति केवल विचारको प्रतिस्पर्धामा सीमित नरही शक्ति संघर्षमा परिणत भएको संकेत देखिन्छ।
कांग्रेसभित्र अहिले सबैभन्दा ठूलो बहस पुस्तान्तरणको हो। युवा पुस्ताले पार्टीलाई नयाँ सोच, नयाँ शैली र नयाँ नेतृत्व आवश्यक रहेको आवाज उठाइरहेको छ। तर, पार्टीको निर्णय प्रक्रिया अझै पुरानै पुस्ताको नियन्त्रणमा रहेको आरोप लागिरहेको छ। सभापति शेरबहादुर देउवा नेतृत्वको समूह अझै पार्टी संरचना गरेर बलियो बन्न चाहन्छ त्यस्तै संस्थापन थापा समुह लामो मतभेदपछि पार्टीलाई एकता गराउन चाहन्छन् । तर अर्को संस्थापनइतर कांग्रेस डा. शेखर कोइराला समुह आफुहरुमाथि दमन भएको आरोप लागाउँदै आएको छ । गगन थापा, विश्वप्रकाश शर्मा लगायत नयाँ पुस्ताका नेताहरूले संगठन रूपान्तरण, नीति आधारित राजनीति र आन्तरिक लोकतन्त्रको बहसलाई अगाडि बढाइरहेका छन्।
तर, प्रश्न यहाँनेर उठ्छ–के कांग्रेसभित्र पुस्तान्तरण सहमतिबाट सम्भव छ, कि संघर्षबाट ?वैचारिक संकट कि व्यवस्थापकीय समस्या ? कांग्रेसको अर्को चुनौती वैचारिक अस्पष्टता हो। एक समय लोकतन्त्र, समाजवाद र प्रजातान्त्रिक आन्दोलनको स्पष्ट पहिचान बोकेको कांग्रेस अहिले “सत्तामुखी दल”को रूपमा आलोचित हुन थालेको छ। जनतामाझ कांग्रेसको वैचारिक सन्देश कमजोर बन्दै गएको विश्लेषण गरिन्छ। युवा पुस्ताले भ्रष्टाचार, सुशासन, रोजगारी, डिजिटल अर्थतन्त्र र नयाँ राजनीतिक संस्कृतिको बहस उठाइरहेका बेला कांग्रेस अझै परम्परागत सत्ता समीकरणमै अल्झिएको देखिन्छ। यसले पार्टीभित्र विचारको संकटभन्दा बढी नेतृत्व र व्यवस्थापनको संकट गहिरिँदै गएको संकेत दिन्छ।
पछिल्ला वर्षहरूमा कांग्रेसको राजनीति गठबन्धन केन्द्रित बन्दै गएको थियो । तर सभापति गगन थापाले गठबन्धनको परम्परा तोडेका थिए । तर पुनः सो परम्परा चर्चामा आउने हल्ला पनि उतिकै छ । कहिले नेकपा ९माओवादी केन्द्र०सँग, कहिले नेकपा (एमाले)सँग समीकरण बदलिँदा कार्यकर्तामा वैचारिक अन्योल बढेको थियो विगतमा । स्थानीय तहदेखि संघीय राजनीतिसम्म “को सँग जाने ?” भन्ने प्रश्नले कांग्रेसभित्र स्पष्ट धार बनाउन सकेको छैन। विगतका वर्षहरुमा गठबन्धनले चुनाव जित्न सहयोग गरे पनि संगठनात्मक रूपमा कांग्रेस कमजोर बनेको गुनासो पार्टीभित्रै छ।
विशेषगरी परम्परागत कांग्रेस समर्थकहरू “कांग्रेस आफ्नो मौलिक पहिचान गुमाउँदै गएको” टिप्पणी गर्न थालेका छन्।
फुटको सम्भावना कत्तिको वास्तविक ?
इतिहास हेर्दा कांग्रेस विभाजनको पीडाबाट गुज्रिएको दल हो। नेपाली कांग्रेस विभाजनका विभिन्न अध्यायले पार्टीलाई कमजोर बनाएको अनुभव अझै ताजा छ। तर, अहिले तत्काल औपचारिक फुटको सम्भावना भने कम देखिन्छ। कारण स्पष्ट छ— कांग्रेसभित्रका सबै समूहलाई पार्टीको छाता आवश्यक छ।
यद्यपि, बाहिरी फुट नभए पनि “भित्री फुट” भने स्पष्ट देखिन थालेको छ।
नेतृत्वप्रति अविश्वास,समानान्तर शक्ति केन्द्र,सार्वजनिक आरोप–प्रत्यारोप,निर्णय प्रक्रियामा असन्तुष्टि, युवा र पुराना नेताबीच दूरी,यी सबै संकेतले कांग्रेसभित्र गम्भीर मनोवैज्ञानिक विभाजन बढिरहेको देखाउँछन्।
कांग्रेसले अब तीनमध्ये एक बाटो रोज्नुपर्ने देखिन्छः पुरानै शैलीमा समीकरणको राजनीति गर्दै जाने, पुस्तान्तरण र संगठन सुधारमार्फत पुनर्जीवन खोज्ने
आन्तरिक संघर्षलाई बेवास्ता गर्दै क्रमशः कमजोर बन्दै जाने । यदि पार्टीले समयमै नेतृत्व हस्तान्तरण, वैचारिक स्पष्टता र संगठनात्मक सुधारको बाटो समात्न सकेन भने कांग्रेस चुनाव जित्ने पार्टी भएर पनि जनविश्वास गुमाउने जोखिममा पर्न सक्छ।
नेपालको लोकतान्त्रिक इतिहासमा कांग्रेस केवल एउटा दल मात्र होइन, एउटा राजनीतिक विरासत पनि हो। त्यसैले कांग्रेसको संकट केवल कांग्रेसको मात्र होइन, नेपालको लोकतान्त्रिक भविष्यसँग समेत जोडिएको विषय बनेको छ।




