काठमाडौं । सरकारको सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीको नेतृत्वदेखि मधेश प्रदेश प्रमुखसम्ममा ठूला निर्णयहरू गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको नियमित बैठकका निर्णयबारे सरकारका प्रवक्ता एवं सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिएका छन्।
दानबहादुर कार्की बने नेपाल प्रहरीका महानिरीक्षक
बैठकले एआईजी दानबहादुर कार्कीलाई नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) पदमा नियुक्त गर्ने निर्णय गरेको छ। वर्तमान आईजीपी चन्द्रकुवेर खापुङ ३० वर्षे सेवा अवधि पूरा गर्दै २६ कात्तिक राति अवकाशमा जाने भएकाले नयाँ नेतृत्वको रूपमा कार्कीलाई जिम्मेवारी दिइएको हो।
मधेश प्रदेश प्रमुख सुमित्रा भण्डारी पदमुक्त, सुरेन्द्रलाल कर्णको नाम सिफारिस
बैठकले मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदमुक्त गर्ने निर्णय गरेको छ।
सरकारले सुरेन्द्रलाल कर्णलाई नयाँ प्रदेश प्रमुखका रूपमा राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको सञ्चारमन्त्री खरेलले जानकारी दिए।
भू–उपयोग तेस्रो संशोधन नियमावली स्वीकृत
त्यसैगरी, मन्त्रिपरिषद्ले “भू–उपयोग तेस्रो संशोधन नियमावली, २०८२” स्वीकृत गर्ने निर्णय पनि गरेको छ। नियमावलीले देशभर भू–व्यवस्थापन तथा योजना निर्माणमा एकरूपता ल्याउने अपेक्षा गरिएको छ।
सरकारका निर्णय सार्वजनिक
बैठकका अन्य निर्णयबारे विस्तृत विवरण प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सार्वजनिक गर्ने तयारी गरेको छ। सरकारले प्रशासनिक, सुरक्षा र कानुनी क्षेत्रमा आवश्यक परिवर्तनका कार्यहरू क्रमशः अघि बढाइरहेको बताइएको छ।
यस्ता छन् सरकारका मुख्य ७ निर्णय :
- नेपाल प्रहरीको महानिरीक्षकमा एआईजी दानबहादुर कार्कीलाई नियुक्त गर्ने ।
- राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण दोस्रो संशोधन नियमावली २०८२ स्वीकृत गर्ने ।
- भदौ २३ र २४ को घटनाको जाँचबुझ आयोगमा निजामतीतर्फ ४ र नेपाल प्रहरीतर्फ ११ जना थप कर्मचारी उपलब्ध गराउने ।
- २०८२ कात्तिक २६ देखि २८ सम्म भारतको नयाँ दिल्लीमा नेपाल भारत कोअर्डिनेशन बैठकको नवौं बैठकमा सहभागी हुने नेपालको तर्फबाट सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक राजु अर्यालको संयोजकत्वको प्रतिनिधिमण्डलको टोलीलाई स्वीकृति ।
- भू–उपयोग तेस्रो संशोधन नियमावली, २०८२ स्वीकृत गर्ने ।
- २०८२ फागुन १ देखि ७ गतेसम्म कर्णाली प्रदेशमा दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता गर्न स्वीकृति दिने निर्णय भएको छ ।
- मधेश प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदमुक्त गर्न र सुरेन्द्र लाभ कर्णलाई नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय भएको छ ।



