राजनीति

जनताको मनोविज्ञान फेर्ने रणनीतिमा नेपाली कम्युनिस्ट पार्टी एकता : मुल नेतृत्वमा पुरानै अनुहार, नयाँ आवरण !

काठमाडौं । नेपालको कम्युनिस्ट राजनीतिले फेरि पनि पुरानै स्क्रिप्ट दोहोर्याएको छ — फुटपछि जुट र जुटपछि फेरि फुटको चक्र। बुधबारदेखि नौ कम्युनिस्ट घटकहरूको विलयसँगै माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायतका दलहरू मिलेर ‘नेपाली कम्युनिस्ट पार्टी’ नामक नयाँ दलको घोषणा गरे पनि यो कदमले समाजमा अपेक्षित उत्साह जगाउन नसक्ने आंकलन गरिएको छ ।

भृकुटीमण्डपमा भव्य कार्यक्रमसहित गरिएको घोषणामा सहभागी नेताहरूले पार्टीको नाम, झण्डा र चिन्ह बदल्ने निर्णय गरे तर नेतृत्व भने फेरिएन। दशौं वर्षदेखि सत्ताको वरिपरि घुमिरहेका पुरानै नेताहरू पुनः शीर्षमा पुगेका छन्।

एकीकृत समाजवादीका घनश्याम भूसाल र माओवादी केन्द्रका जनार्दन शर्मा, राम कार्की, सुदन किराँतीजस्ता नेताहरूले भने नयाँ पार्टीमा नजोडी आफ्नै धार घोषणा गरेका छन्। भूसालले पार्टी पुनर्गठनको तयारी गरिरहेका छन् भने रामकुमारी झाँक्री र किसान श्रेष्ठजस्ता नेताहरूले एमालेतिर फर्किएका छन्।

पुरानै नेतृत्व, नयाँ आवरण

घोषणा कार्यक्रममा नेताहरूले माओवाददेखि ‘जबज’सम्मका विचारलाई फेरेर नयाँ विचारधाराको दाबी गरे तर नेतृत्वमा पुनः प्रचण्ड, माधव नेपाल र झलनाथ खनाल नै अगाडि देखिए। जनताले वर्षौंदेखि परिवर्तनको नेतृत्व खोजिरहेका बेला यिनै पुरानै अनुहारको निरन्तरता जनताका लागि निराशाको कारण बनेको छ।

राजनीतिक विश्लेषकहरूका अनुसार, यो एकता जनआधार होइन, सत्ता समीकरणमा केन्द्रित छ। प्रचण्डले भ्रष्टाचारी करार गरेका गोपाल किराँती अहिले उनलाई “महान क्रान्तिकारी” भन्दै समर्थनमा उभिएका छन्, जबकि प्रचण्डले २०६६ सालमा ‘कठपुतली’ भनेका माधव नेपाल अहिले फेरि उनको सारथि बनेका छन्।

इतिहास दोहोर्याउने क्रम

नेपालको कम्युनिस्ट आन्दोलनको इतिहास नै फुट र जुटको कथा हो। २०५४ सालमा वामदेव गौतमले एमाले फुटाए, पछि फर्किए। २०६३ सालमा माओवादीले शान्ति प्रक्रियामा आए पनि विप्लवले हिंसात्मक बाटो रोजे, अहिले फेरि संसदीय राजनीतिमा फर्किएका छन्। २०७५ सालमा ओली–प्रचण्ड एकता भयो, तर २०७७ सालमा त्यही एकता भंग भयो। अनि अहिले, फेरि एकता।

नेतृत्व र सत्ता स्वार्थले बारम्बार कम्युनिस्ट आन्दोलनलाई कमजोर बनाएको विश्लेषण हुन्छ। वैचारिक बहसको ठाउँ सत्ताको सौदाबाजीले लिएको छ।

जेनजी आन्दोलनपछि नेतृत्व रुपान्तरणको माग

हालैको जेनजी आन्दोलनले देशमा नयाँ पुस्ताको चेतना जगाएको छ। उनीहरू नेतृत्वमा रुपान्तरणको माग गरिरहेका छन्। तर पुरानै नेताहरूको हालीमुहाली र पद लोभले त्यो माग सुन्ने वातावरण अझै बनेको छैन। प्रचण्ड, माधव नेपाल, खनालजस्ता नेताहरू आफ्ना “आधार इलाका” मजबुत बनाउन लागिपरेका छन्, तर नयाँ पुस्ताको आक्रोश र चेतनालाई सम्बोधन गर्ने कुनै ठोस कार्यक्रम देखिँदैन।

कम्युनिस्टहरू नामकै संकटमा

बारम्बारको फुट–जुटका कारण अब कम्युनिस्ट दलहरू नामकै संकटमा छन्।
कसैको नाममा ‘मशाल’, कसैकोमा ‘मसाल’, कसैकोमा ‘एकीकृत’, कसैकोमा ‘जनवादी’।
अब त “नेपाली कम्युनिस्ट पार्टी” नाम राख्ने बेला आइपुगेको छ — जसले विचारभन्दा नाम मिलाउने झन्झट टार्छ।

किन घट्दै गयो आकर्षण ?

जनताको विश्वास कम्युनिस्टहरूप्रति घट्नुको मुख्य कारण हो— कर्मभन्दा बढी नाराबाजी।
पञ्चायतकालदेखि अहिले सम्म कम्युनिस्टहरूले जनताको नाममा आन्दोलन गरे, सत्ता पाएको बेला जनताको मुद्दा बिर्सिए। १७ हजारले ज्यान गुमाएको माओवादी युद्धका पीडित अझै न्याय खोजिरहेका छन्। तर ती मुद्दा सधैं पार्टीभित्रका पद बाँडफाँट र गठबन्धनको बीचमा हराए।

२०५१ सालमा मनमोहन अधिकारी, तीनपटक प्रचण्ड, चारपटक ओली, झलनाथ खनाल र माधव नेपालजस्ता नेताहरू प्रधानमन्त्री भए, तर देशले संरचनागत सुधारको स्वाद पाउन सकेन। जनताको मनोविज्ञान अब स्पष्ट छ — पुरानै नेताहरूको फेरोबाट देश चल्ने छैन। जेनजी पुस्ताले नयाँ सोच, नयाँ भाषा र नयाँ अभ्यास चाहेको छ। तर अहिलेको एकता, नेतृत्व परिवर्तनको होइन, पद जोगाउने गठबन्धनको रूपमा देखिएको छ।नेपालका कम्युनिस्ट दलहरू अहिले रूपभन्दा अर्थ र विश्वासको संकटमा छन्। यदि यो नयाँ एकताले जनताको पीडा सम्बोधन गर्ने कार्ययोजना ल्याउन सकेन भने, इतिहासले फेरि पनि उनीहरूलाई “क्रान्तिकारी होइन, सत्ताका व्यापारी”का रूपमा मात्रै सम्झनेछ।

जेनजी आन्दोलपछि दश दलिय नेपाली कम्युनिस्ट पार्टी एकता : अवसरवादको मार्गचित्र कि सुशासन र समृद्धिकाे प्रतिवद्धता ?

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *