रिबन

मध्यपूर्व द्वन्द्व शान्तितर्फ उन्मुख, कूटनीतिक गतिविधि तीव्र

पेरिस। मध्यपूर्वमा जारी युद्धका बीच पछिल्ला दिनहरूमा कूटनीतिक पहलहरू तीव्र बन्दै गएका छन् र प्रमुख पक्षहरूबीच वार्ता तथा संवादका सङ्केत देखिन थालेका छन् । अमेरिकी नेतृत्वले युद्ध अन्त्यतर्फ उन्मुख रहेको दाबी गरिरहेका बेला क्षेत्रीय र अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरू सक्रिय रूपमा संलग्न भएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध ‘समाप्तिको निकै नजिक’ पुगेको बताउनुभएको छ । उहाँका अनुसार अमेरिका–इरानबीचको शान्ति वार्ता यसै साता पुनः सुरु हुन सक्ने सम्भावना रहेको छ । त्यस्तै, इजरायल र लेबनानबीच प्रत्यक्ष संवाद सुरु गर्ने सहमति भएको खबरले पनि क्षेत्रीय तनाव कम गर्ने प्रयासहरूलाई बल दिएको छ ।

यसैबीच, बेइजिङमा चिनियाँ राष्ट्रपति सी जिनपिङ र रुसका वरिष्ठ कूटनीतिज्ञ सर्गेई लावरोभबीच भेटवार्ता भएको छ । चीन र रुसले मध्यपूर्वमा तनाव न्यूनीकरणका लागि संयुक्त रूपमा पहल गर्ने प्रतिबद्धता यसअघि नै जनाइसकेका छन् । यसले कूटनीतिक सन्तुलनमा नयाँ आयाम थपेको छ ।

अमेरिकी उपराष्ट्रपति जेडी भान्सले इरानले आणविक हतियार नबनाउने स्पष्ट प्रतिबद्धता जनाएमा मात्र शान्ति सम्भव हुने बताउनुभएको छ । इरानको आणविक कार्यक्रम नै वर्तमान द्वन्द्वको मुख्य विवादको विषय बनेको छ, यद्यपि तेहरानले आणविक बम विकासको आरोप अस्वीकार गर्दै आएको छ । अमेरिकी पक्षले वार्तालाई निरन्तरता दिने सङ्केत दिएको छ ।

वासिङ्टनमा भएको छलफलपछि इजरायल र लेबनान प्रत्यक्ष वार्तामा बस्न सहमत भएका छन् । अमेरिकी विदेशमन्त्री मार्को रुबियोको मध्यस्थतामा भएको उक्त वार्तालाई ‘फलदायी’ भनिएको छ, जसले सीमावर्ती तनाव कम हुने अपेक्षा गरिएको छ ।

तर, युद्धको प्रभाव अन्य क्षेत्रहरूमा पनि देखिन थालेको छ । युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले अमेरिकाले इरान युद्धमा बढी ध्यान केन्द्रित गर्दा युक्रेनप्रति चासो घटेको गुनासो गर्नुभएको छ । उहाँले अमेरिकी हतियार आपूर्तिमा समेत अवरोध आएको बताउँदै रुसमाथि पर्याप्त दबाब नपरेको आरोप लगाउनुभयो ।

अमेरिकाले इरानी तेलमाथिको अस्थायी प्रतिबन्ध छुट नवीकरण नगर्ने निर्णय पनि सार्वजनिक गरेको छ । यसले तेहरानमाथि आर्थिक दबाब कायम राख्ने नीति जारी रहने सङ्केत दिएको छ । सोही सन्दर्भमा अमेरिकी नौसेनाले इरानी बन्दरगाहबाट निस्कने केही जहाजहरू रोकेको जनाएको छ, यद्यपि केही जहाजहरू स्ट्रेट अफ होर्मुज हुँदै अघि बढेको तथ्य पनि सार्वजनिक भएको छ ।

उता, लेबनानस्थित हिजबुल्लाहले उत्तरी इजरायलका १३ सहरलाई लक्षित गर्दै रकेट आक्रमण गरेको दाबी गरेको छ, जसले युद्धविराम प्रयासहरूबीच पनि तनाव कायम रहेको देखाउँछ ।

अर्कोतर्फ, अमेरिका र इरानबीच दोस्रो चरणको वार्ता पाकिस्तानमा हुन सक्ने सङ्केत दिइएको छ । यसका लागि पाकिस्तानले मध्यस्थताको प्रयास गरिरहेको जनाइएको छ । वार्ता सफल बनाउन अस्थायी युद्धविराम अवधि लम्ब्याउने प्रयास भइरहेको स्रोतहरूले बताएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इटालीकी प्रधानमन्त्री जोर्जिया मेलोनीले युद्धमा अपेक्षित सहयोग नगरेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ । यसले पश्चिमी गठबन्धनभित्र पनि मतभेद देखिएको सङ्केत गरेको छ ।

मानवीय पक्षमा, अन्तर्राष्ट्रिय रेड क्रस तथा रेड क्रिसेन्टले इरानमा पहिलोपटक राहत सामग्री पुर्‍याएको जनाएको छ, जसले युद्धपीडितहरूलाई केही राहत मिल्ने अपेक्षा गरिएको छ ।

युद्धको आर्थिक प्रभाव पनि गहिरिँदै गएको छ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले मध्यपूर्व र उत्तर अफ्रिकाको सन् २०२६ को आर्थिक वृद्धिदर घटाएर १.१ प्रतिशतमा झारेको छ । तेल तथा ग्यास आपूर्ति अवरुद्ध हुँदा इरान, इराक र कतार विशेष रूपमा प्रभावित हुने चेतावनी दिइएको छ । ऊर्जा आपूर्ति सामान्य अवस्थामा फर्किएमा आगामी वर्ष सुधार देखिने अनुमान गरिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *