राजनीति

सहमहामन्त्री यादवको महाधिवेशन तालिका औपचारिक होइन : का.वा सभापति खड्का

काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सहमहामन्त्री महेन्द्र यादवले प्रस्तुत गरेको महाधिवेशनसम्बन्धी कार्यतालिका पार्टीको आधिकारिक निर्णय नभई व्यक्तिगत धारणा भएको स्पष्ट गरेका छन्।सहमहामन्त्री यादवले मंगलबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसमिति बैठकमा आगामी वैशाख २७ देखि ३० गतेसम्म १५औँ महाधिवेशन गर्ने प्रस्तावसहित कार्यतालिका प्रस्तुत गरेका थिए।

तर, कार्यवाहक सभापति खड्काले उक्त तालिका औपचारिक रूपमा पार्टीको निर्णय प्रक्रिया मार्फत पारित नभएको बताउँदै भने, “सहमहामन्त्री यादवले राख्नुभएको तालिका उहाँको व्यक्तिगत धारणा हो, पार्टीको आधिकारिक प्रस्ताव होइन।” बैठकमा केही सदस्यहरूले यादवको प्रस्तावबारे प्रश्न उठाएपछि खड्काले यो विषयमा स्पष्टिकरण दिएका थिए। उनले बैठकमा जोड दिँदै भने, “पार्टीको नाममा प्रस्तुत हरेक प्रस्तावले संस्थागत प्रक्रिया पूरा गर्नुपर्छ, व्यक्तिगत रूपमा राखिएका सुझावलाई मिडियामा निर्णयको रूपमा प्रस्तुत गर्नु उचित होइन।”

यसअघि महामन्त्री गगन थापाले पुस १६ देखि १९ गतेसम्म महाधिवेशन गर्ने प्रस्ताव पेस गरेका थिए। त्यसको जवाफस्वरूप यादवले नयाँ कार्यतालिका ल्याएपछि पार्टीभित्र दुई फरक धारणा देखिएका छन्। कांग्रेसमा हाल फागुन २१ गतेको आमनिर्वाचनअघि महाधिवेशन गर्ने कि पछि गर्ने भन्ने विषयमा तीव्र बहस जारी छ। यादवले पुस ५ गतेसम्म सदस्यता वितरण, पुस २० गतेसम्म क्रियाशील सदस्य विवरण हस्तान्तरण, चैत १ देखि वडा अधिवेशन, र वैशाख २७ देखि ३० गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने विस्तृत प्रस्ताव पेस गरेका थिए।

तर, खड्काले भने पार्टीमा सहमतिको वातावरण सिर्जना नै अहिलेको प्राथमिकता रहेको बताउँदै, “महाधिवेशनको मिति र प्रक्रिया अन्ततः केन्द्रीय कार्यसमितिको सर्वसम्मत निर्णयबाटै तय हुनेछ,” बताएका छन्। कांग्रेसभित्रको यो विवादले पार्टीको आगामी संगठनात्मक दिशा र निर्वाचन तयारीमा प्रत्यक्ष प्रभाव पार्ने अनुमान गरिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *