राजनीति

छ दशक लामो कांग्रेस सभापति देउवाको राजनीतिक यात्रा : देशको विकास,संविधानको रक्षा र लोकतन्त्रको संरक्षणमा विशेष जोड

काठमाडौं । करिब ६२ वर्ष लामो राजनीतिक यात्रापछि नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले कार्यकारी भूमिकाबाट विदा लिएका छन्। जेन–जी आन्दोलनले उत्पन्न गरेको नयाँ राजनीतिक दबाबबीच देउवाले मंगलबार उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिँदै सक्रिय नेतृत्वबाट पछि हट्ने घोषणा गरेका हुन्।

१७ वर्षको उमेरमा राजनीति प्रारम्भ गरेका देउवा २५ वर्षमै नेविसंघका केन्द्रीय अध्यक्ष, पाँचपटक प्रधानमन्त्री र करिब एक दशक पार्टी सभापति बनेका थिए। तर, ८० वर्षको उमेरमा उनले अन्ततः पार्टी र राष्ट्रिय राजनीतिबाट विश्राम लिँदै ‘पुरानो पुस्ताको अन्त्य र नयाँ पुस्ताको सुरुवात’को संकेत दिएका छन्।

देउवाले पार्टीको १५औं महाधिवेशन तोकिएकै मितिमा सम्पन्न गर्न निर्देशन दिँदै आफ्नो अन्तिम सम्बोधनमा भने,
“संघर्षले भरिएको यो लामो यात्रामा मैले देश र जनताप्रति प्रतिबद्ध भएर काम गरेँ। अब पार्टीले नयाँ दृष्टिकोणसहित अघि बढ्नुपर्छ।”

२४ भदौको जनआन्दोलन (जेन–जी आन्दोलन) पछि देउवामाथि चौतर्फी दबाब बढेको थियो। आन्दोलनले कांग्रेसभित्र नयाँ पुस्ताको नेतृत्वको माग तीव्र बनाएको र पुराना नेताहरूको सत्ता समीकरण भत्काएको विश्लेषकहरूको भनाइ छ। पार्टीका दुई महामन्त्री र ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर अभियान थालेपछि देउवामाथि नैतिक दबाब अझ बढेको थियो। त्यसपछि उनले मंगलबार कार्यकारी भूमिका हस्तान्तरण गरेर औपचारिक रूपमा राजनीतिक उत्तराधिकारको बाटो खोलेका हुन्।

२००३ सालमा डडेल्धुराको असिग्राममा जन्मेका देउवाको राजनीतिक जीवन संघर्ष निकै प्रशंसनीय छ । सभापति देउवाले देश र जनताका लागि निकै उल्लेखनीय काम गरेका छन् । सभापति देउवा अन्य नेता जस्तो कुनै पनि अभिव्यक्तिका कारण विवाद आएनन् । २०५२ सालमा पहिलोपटक प्रधानमन्त्री बनेका उनले ०५८, ०६१, ०७४ र ०७८ सालमा गरी पाँचपटक देशको शासनको नेतृत्व गरे।

राजनीतिक उपलब्धिहरूको स्मरण

अन्तिम मन्तव्यमा देउवाले आफूले गरेका केही उपलब्धिहरू स्मरण गरे — कमैयाँ मुक्ति, छुवाछूत अन्त्य, महिलाको सम्पत्ति अधिकार, दलित र जनजातिको उत्थानका लागि आयोग गठन, वैज्ञानिक भूमिसुधार र मूल्य अभिवृद्धि कर (भ्याट) कार्यान्वयन। “हाम्रो शासनकालमा मुलुकले सामाजिक रूपान्तरणको जग राख्यो,” उनले भने।

देउवाको कार्यकालपछि कांग्रेसमा अब नयाँ नेतृत्वको खोजी सुरु भएको छ। कार्यवाहक सभापति बनेका पूर्णबहादुर खड्काले महाधिवेशन तयारीमा जुट्ने संकेत दिएका छन्। तर पार्टीभित्र अझै पनि देउवाको प्रभाव संगठन र निर्णय प्रक्रियामा रहिरहने सम्भावना देखिएको छ।

संविधान र निर्वाचनबारे देउवाको अन्तिम सन्देश

देउवाले आफ्नो अन्तिम वक्तव्यमा भनेका छन् — “मुलुकलाई पुनः संवैधानिक बाटोमा फर्काउने एकमात्र उपाय स्वतन्त्र र निष्पक्ष निर्वाचन हो। सरकारले सुरक्षित र भयरहित वातावरण सुनिश्चित गर्नुपर्छ।” सभापति देउवाका अनुसार कांग्रेसले लोकतान्त्रिक मूल्यमा आस्था राख्ने सबै दलसँग संवाद र सहकार्य गर्दै संविधानको रक्षा र लोकतन्त्रको स्थायित्वका लागि भूमिका खेल्नुपर्छ। विद्यार्थी राजनीतिबाट उदाएका शेरबहादुर देउवाको राजनीतिक यात्रा पाँच दशकभन्दा बढी समयसम्म नेपालको सत्ता र विपक्ष दुवैमा निर्णायक रह्यो। तर जेन–जी आन्दोलनपछि उनले अन्ततः विश्राम लिए — यो निर्णयले केवल उनको राजनीतिक अध्याय बन्द गरेको होइन, कांग्रेसमा नयाँ युगको सुरुवातको सङ्केत पनि दिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *