काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्वास्थ्य कारणले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका छन्। मंगलबार सानेपास्थित पार्टी कार्यालयमा भएको केन्द्रीय कार्यसमिति बैठकमा देउवाले लिखित सम्बोधन गर्दै उक्त घोषणा गरेका हुन्। सभापति देउवाले सम्बोधनको अन्त्यमा भने, “मेरो स्वास्थ्यका कारणले म पार्टीका उपसभापति श्री पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको रूपमा काम गर्ने गरी तोकेको छु।” कांग्रेसमा कार्यवाहक सभापति तोक्ने परम्परा नयाँ होइन। यो प्रचलन पार्टीको ऐतिहासिक नेतृत्वसम्म पुगेको छ।
सबैभन्दा पहिले तत्कालीन सभापति विश्वेश्वरप्रसाद कोइरालाले २०१७ सालमा सुवर्ण शमशेर जबरालाई कार्यवाहक सभापति बनाएका थिए। राजा महेन्द्रद्वारा सरकार अपदस्त गरी आफू जेल परेपछि कोइरालाले पार्टी नेतृत्व निरन्तरता दिन सुवर्ण शमशेरलाई जिम्मेवारी सुम्पेका थिए। पछि २०३४ सालमा निर्वासनबाट फर्किएपछि कोइरालाले कृष्णप्रसाद भट्टराईलाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका थिए। भट्टराई कांग्रेस इतिहासका सबैभन्दा लामो अवधि कार्यवाहक सभापति बने — करिब १४ वर्षसम्म। उनले २०३४ सालदेखि २०४८ सालमा झापाको कलवलगुडीमा भएको आठौँ महाधिवेशनसम्म पार्टीको नेतृत्व सम्हालेका थिए।
त्यसपछि सभापति गिरिजाप्रसाद कोइरालाले पार्टी एकीकरणपछि स्वास्थ्य समस्याका कारण सुशील कोइरालालाई कार्यवाहक सभापति तोकेका थिए। सुशील कोइराला त्यसपछि १२औँ महाधिवेशन (२०६७ असोज) बाट सभापतिमा निर्वाचित भए। सुशील कोइरालाको निधनपछि तत्कालीन उपसभापति रामचन्द्र पौडेलले कार्यवाहक सभापतिको जिम्मेवारी पाए। पौडेलको नेतृत्वमै २०७२ फागुनमा भएको १३औँ महाधिवेशनबाट शेरबहादुर देउवा सभापति बने। त्यसपछि १४औँ महाधिवेशनबाट पनि देउवा पुनः सभापतिमा निर्वाचित भए। अब स्वास्थ्य कारणले देउवाले पुनः विधानअनुसार उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका छन्।
विश्लेषकहरूका अनुसार, कांग्रेसमा कार्यवाहक सभापतिको प्रणाली नेतृत्व निरन्तरता र संस्थागत स्थायित्व सुनिश्चित गर्ने परिपाटी हो। देउवाको यो निर्णयले पार्टीभित्र नेतृत्व व्यवस्थापनमा लचकता र परम्परागत अनुशासन दुवै कायम गरेको देखिन्छ।




