देश

संसदको संयुक्त अपिल : जनधनको क्षति नदोहोऱ्याउन संवैधानिक निकासमा जोड

काठमाडौं । हालै भदौ २३ र २४ गते भएको जेन–जेड आन्दोलनका क्रममा देशभर जनधनको ठूलो क्षति भएपछि संघीय संसदका दुवै सभामुख–अध्यक्षले गहिरो दुःख व्यक्त गर्दै संवैधानिक प्रक्रियाबाटै निकास दिनुपर्नेमा जोड दिएका छन्।

संघीय संसद सचिवालयद्वारा जारी संयुक्त वक्तव्यमा आन्दोलनका क्रममा ज्यान गुमाएका युवाहरू तथा कर्तव्य पालनामा वीरगति प्राप्त गरेका सुरक्षाकर्मीप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ। साथै शोकसन्तप्त परिवारप्रति संवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभका लागि शुभकामना दिइएको छ।

आगजनी र तोडफोडप्रति गम्भीर चिन्ता

वक्तव्यमा भदौ २४ गते संसद भवन, सिंहदरबारस्थित सचिवालय, सरकारी तथा निजी आवास, सञ्चार गृह, व्यापारिक प्रतिष्ठान र सार्वजनिक सम्पत्तिमाथि भएको तोडफोड तथा आगजनीप्रति गम्भीर चिन्ता व्यक्त गरिएको छ।
संघीय संसदले यस घटनाले मुलुकलाई अपुरणीय क्षति पु¥याएको भन्दै तत्काल स्थायित्व कायम गर्न सबै पक्षलाई जिम्मेवार बन्न आह्वान गरेको छ।

संवैधानिक बाटोमै निकास

राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहाल र प्रतिनिधि सभा सभामुख देवराज घिमिरेद्वारा हस्ताक्षरित वक्तव्यमा राष्ट्रपति संवैधानिक प्रक्रियामार्फत निकास दिन पहल गरिरहनुभएको उल्लेख छ।“देशमा विद्यमान विषम परिस्थितिमा नागरिक स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता र स्वाधीनतालाई शिरोपर गर्दै अघि बढ्नुपर्छ,” वक्तव्यमा भनिएको छ, “विधिको शासन र संविधानवादबाट बाहिर जानु हुँदैन भन्नेमा हामी दृढ छौं।” संसदले आन्दोलनरत पक्षको माग सम्बोधन गर्दै अझ समावेशी, समृद्ध र बलियो लोकतन्त्र निर्माण गर्न सबै दल र पक्षहरूलाई प्रतिबद्ध हुन अपिल गरेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *