काठमाडौंको बानेश्वरचोकमा सोमबार भएको जेन–जी पुस्ताको प्रदर्शनमा सुरक्षाकर्मीको अन्धाधुन्ध गोली लागेर दुई दर्जनजति युवाले ज्यान गुमाउनु लोकतान्त्रिक नेपालका लागि ठूलो धक्का हो। यो केवल सुरक्षा निकायको नियन्त्रण क्षमतामाथि प्रश्न खडा गर्ने घटना मात्र होइन, सरकारका शीर्ष नेतृत्व—प्रधानमन्त्री केपी शर्मा ओलीले संवेदनशीलतालाई प्राथमिकता दिन असफल भएको ठोस प्रमाण हो।
जनताको जीवन रक्षा गर्नु सरकारको पहिलो दायित्व हो। तर, लगातार जनअसन्तोष बढ्दा पनि संवेदनशीलता देखाउन असफल सरकारले आफ्नो औचित्य गुमाएको छ। यस परिस्थितिमा प्रधानमन्त्री ओलीले तत्काल पदत्याग गरेर राजनीतिक जवाफदेहिता निर्वाह गर्नु अपरिहार्य छ। नेतृत्वमा देखिएको कमजोरीको जिम्मेवारी स्पष्ट नगरेसम्म सुधार र विश्वास पुनःस्थापना सम्भव छैन।
त्यसैबेला आन्दोलनकारीहरूबाट पार्टी कार्यालय र नेताहरूका घरमा तोडफोड तथा आगजनी हुनु अर्को चिन्ताजनक पक्ष हो। असन्तोष व्यक्त गर्ने हक सबैलाई भए पनि हिंसा र विनाशले केवल समाजलाई विभाजित गर्छ र पीडा थप्छ। राजनीतिक आक्रोश प्रकट गर्दा पनि मानव जीवन र सम्पत्तिप्रति संवेदनशीलता गुमाउनु हुँदैन।
सामाजिक सञ्जालमाथि गरिएको प्रतिबन्ध, कुशासन, भ्रष्टाचार र दलीयकरण—यी सबै नै युवाहरूको असन्तोषको मूल कारण हुन्। तर, सरकार र दलहरूले समयमै आवाज सुनेर सुधार गर्ने प्रयास गरेनन्, जसको परिणाम दुःखद घटनामा परिणत भयो। अब पनि ढिलाइ नगरी सुधारतर्फ गम्भीर कदम चाल्न जरुरी छ।
जेन जी पुस्ताले गरेको हिंशात्मक आन्दोलनबाट करोडौँको क्षेति भएको छ । आन्दोलनकारीले सरकारले निषेधाज्ञा तोडे ठूला नेताका घर र कार्यालयमा तोडफोड गर्नु पनि अनुचित हो । आवेगमा आएर समस्याको समाधान हुँदैन् , सरकारल आन्दोलनकारीका माग सम्बोधन गर्न भन्दै वार्तामा आउन उनीहरुलाई आग्रह गरिसकेको छ । आन्दोलनकारीले सरकारले बोलाएको वार्तामा उपस्थित भएर आन्दोलन स्थगित गर्नुको विकल्प छैन् ।
भारत–चीन जस्ता राष्ट्रहरू पनि गलवान जस्तो भिडन्तपछि अन्ततः वार्ताकै बाटो रोजेका छन्। युक्रेन र रूस, इजरायल र अरब मुलुकहरू समेत लडाइँबीच वार्ताबाटै निकास खोजिरहेका छन्। नेपालले पनि यही बाटो अंगाल्नुपर्छ। नेपालमा जेन जी समुहले गरेको आन्दोलन र मानवीय तथा भौतिक क्षेतिका बारेमा नजिकबाट नियाँलीरहेका छन् । राष्ट्रिय मानवअधिकार आयोगले समेत लचिलो भएर वार्ताको माध्यमबाट समस्या समाधान गर्न आग्रह गरिरहेको छ । चीन ,भारत,अमेरिका र दक्षिण कोरियाले समेत नेपालमा भएको घटनाप्रति आपत्ति जनाएको छ । सो विषयमा सबैको ध्यान जान जरुरी छ ।




