देश

निजी मेडिकल कलेजको सिट वृद्धि विरोधमा डा. गोविन्द केसीको सत्याग्रह सुरु

काठमाडौं । प्रा. डा. गोविन्द केसीले निजी मेडिकल कलेजमा सिट वृद्धि गर्ने सरकारको निर्णयको विरोध गर्दै कैलालीको धनगढीस्थित गेटा मेडिकल कलेजबाट तीन दिने सत्याग्रह सुरु गरेका छन्। आइतबार पत्रकार सम्मेलन गर्दै डा. केसीले नेता–माफियाको हितमा गरिएको सिट वृद्धि निर्णयले शिक्षाको गुणस्तर गिराउने र आम नेपालीको स्वास्थ्यसँग खेलबाड गर्ने आरोप लगाए।

उनका अनुसार, त्रिवि मेडिकल अध्ययन संस्थानजस्ता सरकारी संस्थानलाई आधारभूत पूर्वाधार नपुग्दा सीमित विद्यार्थी पढाउन सक्ने अवस्था छ भने, पर्याप्त पूर्वाधार र बिरामी चाप नभएका निजी कलेजलाई उल्टै बढी सिट दिने निर्णय दुर्भाग्यपूर्ण हो।

डा. केसीले सत्याग्रहमार्फत निजी मेडिकल कलेजको सिट वृद्धि फिर्ता गर्न, इलाम, उदयपुर र डडेलधुरामा सरकारी मेडिकल कलेज खोल्न, गेटा मेडिकल कलेजको शिक्षण अस्पताल र शैक्षिक कार्यक्रम तत्काल सञ्चालन गर्न माग गरेका छन्।

त्यसैगरी, अघिल्ला सम्झौताअनुसार एकीकृत प्रतिष्ठान ऐन, उच्च शिक्षा ऐन, गैरनाफामूलक मेडिकल शिक्षा र दरबन्दीसम्बन्धी प्रावधान कार्यान्वयन गर्नुपर्ने पनि उनका मागमा समावेश छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *