काठमाडौं । एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीचको राजनीतिक तनाव नयाँ उचाइमा पुगेको छ। ओलीले भण्डारीको राजनीतिक सक्रियतालाई पार्टी र गणतन्त्रका लागि ‘खतरा’ ठान्दै आक्रामक चेतावनी जारी गरेका छन्, भने भण्डारी भने निरन्तर भेटघाट र गतिविधि मार्फत आफ्नो राजनीतिक प्रभाव विस्तार गरिरहेकी छन्।
ओलीले भण्डारीलाई पार्टी सदस्यता लिन कर्मचारीलाई ‘झुक्याएर रसिद’ लिएको आरोप लगाउँदै पार्टीभित्र चुनाव हार्नु तय भएको चेतावनी दिए। उनले भने, “उहाँ हार्नु निश्चित छ, नराम्ररी हार्नुहुन्छ। पार्टी र आन्दोलनको हितका लागि यस्तो हुनु अपरिहार्य छ।” ओलीले पूर्वउपाध्यक्ष भीम रावलको उदाहरणसमेत प्रस्तुत गर्दै, भण्डारी चुनाव हार्नासाथ पार्टीले स्पष्टीकरण माग्नुपर्ने अवस्था आउन सक्ने चेतावनी दिए।
यसबीच, भण्डारीले एमालेभित्रको प्रतिवन्धलाई नमान्दै सक्रिय राजनीतिक भेटघाटलाई निरन्तरता दिइरहेकी छन्। भंगालस्थित निवासमा उनले एमालेका दोस्रो र तेस्रो तहका नेतासँग छलफल मात्र नभई अन्य दलका नेतासँग भेटवार्ता समेत गरेकी छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मनिष झा, माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, कांग्रेस नेता शेखर कोइराला र एमालेका वरिष्ठ नेतासँग उनको सक्रिय संवादको प्रमाण सार्वजनिक छ। उनीहरुले समेत भण्डारीलाई राजनीतिमा आउने विषयमा ओलीले तगारो हाल्न नहुने बताउँदै आएका छन् ।
भण्डारीले आफू पार्टीभित्रको लोकतान्त्रिक अभ्यासलाई अघि बढाउने र जनताको बहुदलीय जनवादको मर्म अनुसार काम गर्ने प्रतिबद्धता दोहोर्याएकी छन्। उनका अनुसार, “एमालेबाटै अघि बढ्न चाहन्छु, केपी ओलीले रोक्न खोजे पनि म राजनीतिक रूपमा अब नफर्कने स्थिति बनाएकी छु।”
राजनीतिक विश्लेषकहरूको दृष्टिमा, ओलीको आक्रामक टिप्पणी र भण्डारीको सक्रियता बीचको द्वन्द्वले पार्टीभित्र नयाँ विभाजनको संकेत दिएको छ। ओलीले फाउन्डेशनमार्फत भण्डारीको गतिविधिलाई व्यक्तिगत र पारिवारिक संस्था मात्र ठानेर आलोचना गरे पनि, पूर्वराष्ट्रपति आफैंले आफ्नो सम्पर्क कार्यालय स्थापना गर्दै पार्टीभित्र सक्रिय भूमिका निर्वाह गर्ने तयारीमा छिन्। भण्डारीले भण्डारीले नयाँ बानेश्वरस्थित थापागाउँमा आफ्नो सम्पर्क कार्यालय उद्घाटन गरिसकेकी छन् । ‘मदन भण्डारी ७५औँ जन्मजयन्ती मूल व्यवस्थापन समिति’को नाममा सञ्चालन हुने उक्त कार्यालय उद्घाटन कार्यक्रमा पूर्वराष्ट्रपति भण्डारी स्वयं उपस्थित भई उद्घाटन गरेकी हुन्।
राजनीतिक रूपमा पुनः सक्रिय भइसकेकी भण्डारीले नेकपा एमालेको संगठन र बहुदलीय जनवादको विस्तारमा आफ्नो संरक्षकत्वमा छुट्टै राजनीतिक अभ्यास अघि बढाउने संकेत गरेकी छन्।
संपर्क कार्यालयका लागि उनले आफ्ना पति एवम् तत्कालीन एमाले महासचिव मदन भण्डारीले २०४८ सालमा चुनावी कार्यक्रमको लागि प्रयोग गरेको घर रोजेकी छन्। चार तले रातो भवन, जुन बानेश्वरको लाखेचौर मार्गमा भाडामा लिइएको छ, अब ‘मदन भण्डारीको हीरक जयन्ती मूल व्यवस्थापन समिति’को कार्यालयको रूपमा प्रयोग हुनेछ।
यसैसँगै, छोरी उषाकिरणको अध्यक्षतामा सञ्चालित मदन भण्डारी फाउन्डेसनले डोरमणि पौडेलको संयोजकत्वमा मूल व्यवस्थापन समिति गठन समेत गरेको छ। बागमती प्रदेशका पूर्वमुख्यमन्त्री पौडेललाई भण्डारीको राजनीतिक प्रियपात्र मानिन्छ।
पूर्वप्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओली र भण्डारीबीचको यो द्वन्द्वले एमालेभित्र राजनीतिक अनुशासन, सदस्यता नवीकरण र नेतृत्व प्रक्रियामा प्रत्यक्ष प्रभाव पार्ने निश्चित छ। विश्लेषकहरूले यो द्वन्द्वले आगामी विधान महाधिवेशन र पार्टीको संगठनात्मक भविष्यमा निर्णायक भूमिका खेल्ने बताउँदै आएका छ्न ।
यसरी, भण्डारी–ओली विवाद केवल व्यक्तिगत प्रतिद्वन्द्विता मात्र नभई एमालेमा वैचारिक र संगठनात्मक चुनौतीको रूपमा उदाउँदै गएको छ, जसले पार्टीभित्रको सत्ता सन्तुलन र आगामी रणनीतिमा असर पार्ने अपेक्षा गरिएको छ।




