जलश्रोत/उर्जा

तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ ४६ मेगावाटको भोटेकोशी–५ जलविद्युत आयोजना निर्माण हुँदै

काठमाडौं । सिन्धुपाल्चोकमा ४६ मेगावाट क्षमताको भोटेकोशी–५ जलविद्युत आयोजना निर्माण हुने भएको छ। कालिका इनर्जी लिमिटेडको प्रस्तावमा अघि बढेको यो आयोजनामा करिब नौ अर्ब ७२ करोड रुपैयाँ लगानी हुने अध्यक्ष मोहन विक्रम कार्कीले जानकारी दिए

उनका अनुसार मध्य भोटेकोशी (१०२ मेगावाट) जलविद्युत आयोजनाको पावरहाउसबाट निस्कने पानी प्रयोग गरी नयाँ आयोजना बनाइनेछ। झण्डै पाँच किलोमिटर सुरुङमार्ग र पेनस्टक पाइपमार्फत पानी ल्याई बाह्रबिसे नगरपालिका–९ र त्रिपुरासुन्दरी गाउँपालिका–३ बीच कल्लेरीमा पावरहाउस निर्माण गरिने तयारी रहेको छ ।

तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजनाले वार्षिक २५२.५६ गिगावाट आवर विद्युत उत्पादन गर्ने जनाइएको छ । सुख्खा मौसममा ७६.१४ गिगावाट आवर र वर्षा मौसममा १७६.४२ गिगावाट आवर ऊर्जा उत्पादन हुने अनुमान छ। बाह्रबिसे नगरपालिका–३, ४, ५, ८, ९ र त्रिपुरासुन्दरी गाउँपालिका–३ प्रत्यक्ष प्रभावित हुनेछन्।

निर्माण अवधिमा करिब ९,१८० जनालाई रोजगारी मिल्नेछ। आयोजना सञ्चालनका लागि दक्ष, अर्धदक्ष र अदक्ष गरी २५५ जनशक्ति आवश्यक हुनेछ, जसमा स्थानीयलाई प्राथमिकता दिइनेछ। आयोजनामा सात अर्ब बैंक ऋण र तीन अर्ब जनताको लगानी रहनेछ। निर्माणको ५० प्रतिशत काम सम्पन्न भएपछि स्थानीयलाई एक अर्ब रुपैयाँ बराबरको सेयर उपलब्ध गराइनेछ।

आयोजनाले शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, सीपमूलक तथा आयमूलक कार्यक्रममार्फत प्रभावित क्षेत्रमा योगदान गर्ने जनाएको छ। राम्चे, मानेश्वाँरा, नेपालगाउँ, खोरन, बाह्रबिसे, खोर्सानीबारी, सिरिसे, पलाँतीलगायतका बस्तीहरूलाई विशेष प्राथमिकता दिइनेछ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *