काठमाडौं । वाणिज्य बैंकहरूले भदौ महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर औसतमा घटाएका छन्। २० वटा वाणिज्य बैंकले सार्वजनिक गरेको सूचीअनुसार साउनको तुलनामा भदौमा ब्याजदर ०.११ प्रतिशत बिन्दु घटेको छ।
साउन महिनामा व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम औसत ब्याजदर ५.६८ प्रतिशत रहेकोमा भदौमा यो ५.५७ प्रतिशतमा झरेको छ।
भदौमा ८ बैंकले ब्याजदर घटाएका छन्, जसमा कृषि विकास, एभरेस्ट, लक्ष्मी सनराइज, स्ट्यान्डर्ड चार्टर्ड, सिद्धार्थ, कुमारी, सानिमा र नेपाल एसबीआई बैंक परेका छन्। त्यस्तै, ११ बैंकले ब्याजदर स्थिर राखेका छन्। स्थिर राख्नेमा सिटिजन्स, एनएमबी, नेपाल इन्भेस्टमेन्ट मेगा, हिमालयन, प्राइम कमर्सियल, ग्लोबल आईएमई, राष्ट्रिय वाणिज्य, नबिल, एनआईसी एसिया, माछापुच्छ्रे र नेपाल बैंक छन्। एक मात्र प्रभु बैंकले भने ब्याजदर बढाएको छ।
बैंकहरूले छोटो अवधिका निक्षेपमा न्यून र लामो अवधिका लागि केही बढी ब्याजदर दिने प्रचलन राख्दै आएका छन्। व्यक्तिगत मुद्दतीमा तोकिएको अधिकतम ब्याजदर लामो अवधिका लागि हो। यसले प्रत्यक्ष रूपमा बचतकर्ताको आम्दानी घटाउने र कर्जाको ब्याजदर पनि क्रमशः घट्ने संकेत गर्छ।
ब्याजदरमा निरन्तर गिरावट देखिनुको कारण असारमा भएको उच्च पूँजीगत खर्चका कारण निक्षेप बढ्नु र कर्जा प्रवाह भने सुस्त रहनु हो। यसअघि नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत नीतिगत दर घटाएर बैंकहरूलाई ब्याजदर घटाउन दबाब दिएको थियो। हाल नीतिगत दर ४.५ प्रतिशत, स्थायी तरलता सुविधा दर ६ प्रतिशत र स्थायी निक्षेप सुविधा संकलन दर २.७५ प्रतिशत कायम छ।





