काठमाडौं । राजधानीको चोभार क्षेत्रमा बुधबार प्रहरीको गोली लागेर एक जना व्यक्ति घाइते भएका छन्। उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नियन्त्रणमा लिन खोज्दा गोली चलाइएको प्रहरीले जनाएको छ।
उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्काका अनुसार गोली प्रहारबाट सुजन शाही घाइते भएका छन्। उनलाई घाइते अवस्थामा नियन्त्रणमा लिएर उपचारका लागि अस्पताल पठाइएको छ।
प्रहरीका अनुसार शाही केही दिनअघि कीर्तिपुरमा भएको हत्या घटनाका मुख्य आरोपीमध्ये एक हुन्। उक्त घटनामा संलग्न अन्य व्यक्तिहरूको पनि खोजी जारी रहेको प्रहरीले जनाएको छ।
यसअघि कीर्तिपुर नगरपालिका–१० स्थित पोडेटोलमा भएको खुकुरी प्रहार घटनामा गुल्मी धुर्कोट गाउँपालिका घर भएका विपिन घिमिरेको मृत्यु भएको थियो। धारिलो हतियार प्रहारबाट गम्भीर घाइते भएका घिमिरेको उपचारका क्रममा कीर्तिपुर अस्पतालमा मृत्यु भएको थियो।
प्रहरी अनुसन्धानअनुसार उक्त घटनामा तीन जनाको समूह संलग्न रहेको बताइएको छ। उनीहरूमध्ये एक जना पक्राउ परे पनि बाँकीको खोजी तीव्र पारिएको छ।घटनापछि फरार रहेका आरोपितमध्ये सुजन शाहीलाई नियन्त्रणमा लिन खोज्दा चोभार क्षेत्रमा गोली चलाइएको प्रहरीले जनाएको छ। अनुसन्धानलाई अझै अघि बढाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जानकारी दिएको छ।




