काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको विधि, विधान र प्रक्रियाविपरीत कुनै पनि गतिविधि स्वीकार्य नहुने बताएका छन् ।
बागमती प्रदेशस्तरीय विशेष भेलालाई सम्बोधन गर्दै उनले कसैलाई नेतृत्वमा आउन हतार भयो भन्दैमा पार्टीको नियम मिच्न नपाइने टिप्पणी गरे । उनले पार्टीभित्र फर्जी हस्ताक्षरमार्फत कब्जा गर्ने प्रयास भइरहेको आरोप समेत लगाए ।
सिंहले नेपाली काँग्रेसले लोकतन्त्र स्थापना र जनअधिकार सुनिश्चित गर्न ऐतिहासिक भूमिका खेलेको उल्लेख गर्दै पार्टीको योगदानलाई कमजोर बनाउने गतिविधि स्वीकार नगर्ने चेतावनी दिए ।
‘नेतृत्वमा पुग्न हतार भयो भन्दैमा पार्टीको विधि र विधान मिच्न पाइँदैन । पार्टीलाई कमजोर बनाउने काम हामी टुलुटुलु हेरेर बस्दैनौँ,’ उनले भने ।
उनले पार्टीभित्र देखिएको विवाद समाधानका लागि सबै पक्ष र तहका नेताहरूलाई एकताबद्ध गर्दै नियमित महाधिवेशन गर्नुपर्नेमा जोड दिए ।




