काठमाडौं । प्रतिनिधि सभामा आज सत्तारूढ नेपाली कांग्रेस र एमालेका सांसदहरूले रास्वपा सभापति रवि लामिछानेमाथि तीव्र आक्रोश प्रकट गर्दै सहकारी ठगीको रकम तिर्न तयार भएको कुरा नै अपराधको स्वीकारोक्ति भएको बताएका छन्।
एमालेका मुख्य सचेतक महेश बर्तौलाले सहकारी ठगी प्रकरणलाई राजनीतिक प्रतिशोधको नाममा रास्वपाले चलाइरहेको हस्ताक्षर अभियानमाथि प्रश्न उठाए। उनले भने, “बिगो तिर्न तयार हुनु भनेको अभियोग स्वीकार्नु हो, यस्तो अवस्थामा प्रतिशोधको आरोप निराधार हुन्छ।”
कांग्रेसकी सांसद ईश्वरी न्यौपानेले रुपन्देही अदालतले लामिछानेको बैंक जमानत मार्फत २ करोड ७४ लाख ८४ हजार तिर्ने प्रस्ताव अस्वीकार गरेको प्रसंग उठाउँदै, “उहाँले रकम तिर्ने कुरा गरेकै हो भने ठगी स्वीकार गर्नुभएको प्रमाण हो” भनिन्।
न्यौपानेले लामिछाने र उनको दललाई अदालतमा विचाराधीन मुद्दा रहँदा हस्ताक्षर अभियान र प्रचारमार्फत जनमत भ्रमित गराएको आरोप लगाइन्। “पैसा पनि दिनुपर्ने, हस्ताक्षर पनि गर्नुपर्ने—यो त अदालतको अपहेलन जस्तै हो,” उनको भनाइ थियो।
सांसदहरूले लामिछानेको कदमलाई ‘राजनीतिक नाटक’ भन्दै, सहकारी पीडितले बिगो रकम मुद्दाको टुंगो नलाग्दै पाउने आश्वासन दिनु बेइमानी भएको आरोप लगाए।




