काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले हालै विभिन्न समाजवादी र वामपन्थी दलका नेताहरूसँग भेटवार्ता गरी राजनीतिक एकताको प्रयास तीव्र पारेका छन्। तर, श्रेष्ठको सो पहललाई पार्टीले आधिकारिक रूपमा समर्थन नगरेको दाबी गरेको छ । अब श्रेष्ठले आधिकारिक रुपमा नै धारणा सार्वजनिक गरेपछि सो विषय स्पष्ट हुने बुझिएको छ ।
माओवादीका सचिव लीलामणि पोखरेलले श्रेष्ठको भेटवार्तालाई व्यक्तिगत पहल भनेर छुट्याए। उनले भने, यी भेटहरू पार्टीको आदेशमा भएका होइनन्। एकताको प्रक्रिया औपचारिक छलफलबाट मात्रै अघि बढ्छ।
जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवसँग भेटमा यादवले भने– यो राजनीतिक भेट होइन, हामी छिमेकी मात्र हौं। नेकपा (एकीकृत समाजवादी) का झलनाथ खनाल र घनश्याम भुसालसँग पनि श्रेष्ठले भेटघाट गरेर छलफल गरिसकेका छन् । यस्तै उनले नेकपा (विप्लव गुट) का नेतासँग पनि एकताको सम्भावनाबारे छलफल गरिसकेका छन् । पार्टीले विप्लव गुटसँग एकता गर्न कार्यदल गठन गर्ने निर्णय गरेको छ।
माधव नेपालको नेतृत्वको एकीकृत समाजवादीसँग छलफल भइरहेको छ, तर औपचारिक प्रक्रिया सुरु भएको छैन। नेसपासँग एकताको निर्णय पहिले नै भइसकेको छ।
श्रेष्ठले गत महिना पूर्वराष्ट्रपति विद्या भण्डारीलाई समेत भेटेर वाम एकताको प्रस्ताव राखेका थिए, जसले राजनीतिक हलचल बढाएको थियो। तर, पार्टी भित्रै उनको यो पहललाई लिएर मतभेद देखिन्छ। वामपन्थी एकताको प्रयास जारी छ, तर पार्टी भित्रै समन्वय नभएसम्म यो प्रक्रिया जटिल बनीरहने देखिन्छ।




