काठमाडौं । नेपालको पछिल्लो चरणको राजनैतिक घटनाक्रम विगतको भन्दा केही फरक देखिएको छ । वर्तनमान समयमा देशका सत्तारुढ दलहरुदेखि नयाँ तथा पुराना दलहरुमा एक –अर्कामा देखिएका समस्या समाधान गर्नकै लागि सत्ता तथा प्रतिपक्षबिच मात्र होइन् आफ्नै पार्टीभित्र पनि आलोचना र सुझाव संकलन हुन थालेका छन् । नयाँ दलहरुले पुराना दलहरुमा देखिएका समस्या समाधान गर्न र पुराना दलहरुले पनि नयाँ दलमा देखिएका कमिकम्जोरीहरु सुधार गरेर अघि बढनुपर्ने सुझाव पेश गर्दै आएका छन् ।
चाहे संघीय संसदमा होस या विभिन्न सार्वजनिक कार्यक्रममा समेत विभिन्न राजनैतिक दलहरुले एक अर्कामा विभिन्न टिक्काटिप्पणी गर्दै आएका छन् । यस्तै साउन २१ गतेको प्रतिनिधि सभा बैठकमा पनि सोही कुरा देखियो । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा र एमालेका गोकुल बाँस्कोटाले एकै सुरमा नयाँ राजनीतिक शक्तिहरूमाथि गम्भीर प्रश्न उठाए। करिब ५३ मिनेट लामो भाषणमा उनीहरूले रास्वपालगायत नयाँ दलहरूलाई लक्षित गर्दै लोकप्रियतावादले देशमा भ्रम फैलाएको र समाज ‘नायक खोजी’मा भड्किएको टिप्पणी गरेका थिए । सो अभिव्यक्तिले देशमा नयाँ नेतृत्वको खाँचोे रहेको प्रष्ट बुझन् सकिन्छ । हिजोँको कार्यक्रममा मात्र होइन् अहिले केही समयअघिदेखि नै असल नेतृत्व बनाउने बाटो खोजिरहेका छन् राजनैतिक दलहरु तर दिशा निकै पर छ । भाषण ठूलो गर्ने तर यात्रा गोरेटोमैँ छ ।
शर्माले ‘सबै पुराना खराब र नयाँ राम्रा’ भन्ने सोचमाथि प्रहार गर्दै संस्कृति, परम्परा र जीवनशैलीसमेत पुरानै हुन् भन्दै व्यंग्य गरे। बाँस्कोटाले भने नयाँ दलहरूलाई नेपाली जेलेन्स्की बन्ने प्रयास गरिरहेको आरोप लगाए। संसदमा जारी रास्वपाको विरोध, भिजिट भिसा प्रकरण, र अदालतमाथिको दबाबजस्ता विषयमा कांग्रेस र एमाले नेताहरू आक्रामक देखिए। एमाले सांसद दयाल शाहीले रास्वपाका नेतामाथि भगौडा र पैसाको बलमा पार्टी चलाएको बताए ।
अर्कोतर्फ, रास्वपाले पुराना दलहरू आफूनो अस्तित्व स्वीकार्न नसकेको प्रतिक्रिया दिदैँ आएको छ । उनीहरूको भनाइमा, पुराना दलहरूले नयाँको उदय रोक्न संवादभन्दा टकरावको बाटो लिएका छन्। संसदभित्रै ‘०८४ सालको चुनाव’ चर्चा सुरु भइसकेको निकै लामो समय भयो । तर अझै चुनाव आउन दुई वर्ष बाँकी छ । वर्तमान समस्या समाधानको बाटो छल्नलाई आगामी निर्वाचनतिर कुरा मोड्दैछन् नेताहरु सो कुरा नागरिकहरुले प्रष्ट बुझेका छैनन् । एकातिर पुराना दलहरू नयाँ शक्तिबाट नडराएको देखाउने प्रयासमा छन् भने अर्कातर्फ ‘नयाँले सारा परिदृश्य बदल्ने’ कुरा गर्दैछन्। तर, समग्र समाज ‘नयाँ नायक’ को खोजीमा देखिन्छ। पुरानाको विकल्प नयाँ भनेर उदायका राजनैतिक पार्टीहरुले समेत आ–आफ्नै ढङ्गबाट अगाडी बढ्दा देशमा राजनैतिक धुर्वीकरण भएको राजनीतिक विश्लेषकहरु बताउँछन् ।
घनश्याम भुसालको भनाइमा, समाज चर्किएको छ र जब राजनीतिमा नारावादी उथलपुथल आउँछ, त्यहाँ स्थिरता गुम्ने जोखिम उच्च हुन्छ। ०८४ सालको चुनावले चमत्कार ल्याउन सक्दैन तर अस्थिरता र समीकरण परिवर्तन भने निश्चितजस्तै देखिन्छ। नेपाली राजनीति अहिले स्पष्ट दुई धारमा बाँडिएको छ – नयाँ र पुराना। दुवै पक्षको संघर्ष संसददेखि समाजसम्म चर्किँदै गएको छ। तर जनताले खोजेको एआईजस्तो नायक फेला पर्छ त ? आगामी चुनावले यसको एउटा जवाफ दिने सम्भावना देखिन्छ।




