देश

सरकारलाई शिक्षक महासंघको चुनौती: भदौको दोस्रो साताबाट चरणबद्ध आन्दोलनको घोषणा

काठमाडौं। नेपाल शिक्षक महासंघले भदौ दोस्रो साताको सुरुबाट चरणबद्ध आन्दोलन सुरु गर्ने निर्णय गरेको छ।

बिहीबार काठमाडौंमा बसेको महासंघको बैठकले सरकारसँग भएको पूर्वसहमति कार्यान्वयन नभएको भन्दै आन्दोलनको तयारी थाल्ने निर्णय गरेको हो। महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीका अनुसार, आन्दोलनका कार्यक्रम तय गर्न ‘आन्दोलन परिचालन समिति’ खडा गरिनेछ भने त्यसलाई ‘राष्ट्रिय समिति’ले अनुमोदन गर्नेछ।

सुवेदीका अनुसार, भदौ ३ र ४ गते राष्ट्रिय समितिको पूर्ण बैठकसमेत बोलाइएको छ।

उनले प्रतिनिधिसभामा शिक्षा विधेयक दर्ता नभएसम्म त्यसले के कति विषय समेटेको छ भन्ने स्पष्ट नहुने बताए। साथै, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विधेयकमाथि के भइरहेको छ भन्नेबारे पनि आफूमध्ये कुनै औपचारिक जानकारी नभएको जिकिर गरे।

महासंघको बुझाइमा, अहिलेसम्मको सरकारको कदमले समग्र शिक्षक समुदाय सन्तुष्ट हुने गरी तथा विद्यालय शिक्षाका समस्या समाधान गर्ने गरी विधेयक आउने आशा कमजोर देखिएको उल्लेख गरिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *