काठमाडौं । संघीय निजामती सेवा विधेयकमा देखिएको ‘कुलिङ पिरियड’सम्बन्धी विवादले संसदको राज्य व्यवस्था समितिमा ठूलो तरंग ल्याएको छ। माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड (पुष्पकमल दाहाल) ले समितिका सभापति रामहरि खतिवडामाथि नैतिक प्रश्न उठाउँदै, अब उनी सभापतिको कुर्सीमा बस्न नपाउने दाबी गरेका छन्।
ूनैतिकता भन्ने कुरा अझै बाँकी छ भने, खतिवडाले तत्काल राजीनामा दिनुपर्छ,पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले बिहीबार अखिल (क्रान्तिकारी) ले काठमाडौंमा आयोजना गरेको शैक्षिक संवाद कार्यक्रममा भने, राजीनामा दिनु नै राजनीति सुरक्षित गर्ने बाटो हो।
प्रचण्डको टिप्पणी संघीय निजामती विधेयकमा समितिले गरेको निर्णयमाथि उठेका प्रश्नसँग जोडिएको छ। उक्त विधेयकको केही प्रावधानमा गम्भीर त्रुटि देखिएको र त्यसको प्रत्यक्ष जिम्मेवारी समितिको नेतृत्वसँग सम्बन्धित रहेको भन्दै उनले खतिवडाको भूमिकामाथि नै प्रश्न उठाएका हुन्।
यस अभिव्यक्तिले सत्ता गठबन्धनभित्रको असहज सम्बन्ध, र सत्तारूढ दलकै नेताबाट आउन थालेको आन्तरिक असन्तोष पनि सतहमा ल्याएको छ। खतिवडा काँग्रेस सांसद हुन् भने प्रचण्ड नेतृत्वको माओवादी केन्द्र हाल सरकारको मुख्य घटक हो।
अब प्रश्न के उठ्छ भने — रामहरि खतिवडा दबाबमा झुक्नेछन् कि पदमै अडिग रहनेछन्? अनि प्रचण्डको यस्तो धारणा के केवल व्यक्तिगत असन्तुष्टि हो, वा सत्ता सन्तुलनमा फेरबदलको संकेत ?




