काठमाडौँ । संघीय निजामती सेवा विधेयकमा उल्लेखित ‘कुलिङ पिरियड’ सम्बन्धी प्रावधानलाई निष्प्रभावी बनाउने भाषाको प्रयोगबारे छानबिन गर्न गठन गरिएको संसदीय विशेष छानबिन समितिले भोलि (सोमबार) प्रतिनिधिसभाको बैठकमा प्रतिवेदन बुझाउने भएको छ।
समितिको कार्यकाल आज (आइतबार) सकिँदैछ। कार्यकाल सकिनुअघि अन्तिम प्रतिवेदन तयार पारेर सोमबारको बैठकमा बुझाउने तयारी भइरहेको समितिका सदस्यहरूले जनाएका छन्।
प्रतिनिधिसभाले विधेयकमा ‘कुलिङ पिरियड’ सम्बन्धी विवादास्पद शब्दावलीको प्रयोगबारे प्रश्न उठेपछि गत असार २३ गते विशेष छानबिन समिति गठन गरेको थियो। सुरुमा समितिलाई २१ दिनको समय दिइएको थियो भने पछि एक हप्ता म्याद थप गरिएको थियो।
सात सदस्यीय यस समितिमा नेपाली कांग्रेस र नेकपा एमालेबाट दुई–दुई जना तथा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट एक–एक जना सदस्य रहेका छन्। समितिको सभापतिमा कांग्रेस सांसद जीवन परियार रहेका छन् भने अन्य सदस्यहरूमा सुशीला थिङ, नारायणप्रसाद आचार्य, ईश्वरी घर्ती, माधव सापकोटा, गणेश पराजुली र रोशन कार्की छन्।




