काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालमा समावेशी लोकतन्त्र कार्यान्वयनमा रहेको बताएका छन्।
शुक्रवार पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा सम्बोधन गर्दै देउवाले नेपालको संविधानले महिला, आदिवासी, जनजाति, दलितलगायत सबै वर्गलाई प्रतिनिधित्व सुनिश्चित गरेको बताए।
“यो देशका सबैलाई जोड्ने किसिमको संविधान हो,” देउवाले भने, “महिला, दलित, जनजाति, आदिवासी सबैको समावेशीतामा आधारित प्रतिनिधित्व यसले सुनिश्चित गरेको छ।”
तर देउवाले वर्तमान संविधानका कारण कुनै एक दलले स्पष्ट बहुमत ल्याउन कठिन हुने अवस्था सिर्जना भएको बताए। “कुनै पनि पार्टीको स्पष्ट बहुमत आउँदैन,” उनले भने, “सरकार गठनका लागि मिलेर जानुपर्ने आवश्यकता संविधानले उत्पन्न गरेको छ।” तर सबै दलहरू एकजुट भएर अघि बढे बहुमत ल्याउन सम्भव हुने उनको भनाइ थियो।
सभापति देउवाले थारु समुदायप्रति विशेष आभार प्रकट गर्दै देशका कठिन परिस्थितिमा पनि उनीहरूले इमान्दारीपूर्वक राष्ट्रप्रति योगदान दिएको उल्लेख गरे।




