देश

जैविक विविधता तथा वन्यजन्तुको सम्बन्धको दीर्घकालीन खोजी

काठमाडौं।  जैविक विविधता संरक्षण तथा पर्यापर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘जैविक विविधता तथा रेडपाण्डा–थार अन्तर्राष्ट्रिय सम्मेलन’ले वनस्पति, जीवाणु र तिनीहरूको आपसी सम्बन्धलाई दीर्घकालीन बनाउने प्रतिबद्धता प्रकट गरेको छ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाद्वारा यही वैशाख ४ देखि ६ गतेसम्म सञ्चालित सम्मेलनले पृथ्वीमा रहेका सम्पूर्ण प्राणीको सहअस्तित्वलाई सुदृढ गर्ने प्रतिबद्धता गरेको हो ।

सम्मेलनलाई सफल बनाउन कोशी प्रदेश सरकार, पर्यटन, वन तथा वातावरण मन्त्रालय, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, वन तथा भूसंरक्षण विभाग, राष्ट्रिय प्रकृति संरक्षण कोष, त्रिभुवन विश्वविद्यालय, नेपाल प्रज्ञा प्रतिष्ठानलगायतले सहकार्य गरेका थिए । नेपालले जैविक विविधता संरक्षणका लागि सन् १९६० को दशकदेखि विभिन्न व्यवस्थाहरू गरेको पाइन्छ ।

प्रकृतिमा आधारित जीविकोपार्जन एवं रोजगारी सृजना, दिगो विकास तथा पर्यापर्यटन प्रवर्द्धन, मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनलगायत विषयमा परम्परागत ज्ञानको समीक्षा, वैज्ञानिक ज्ञान र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभवलाई एकीकृत गर्दै आगामी दिनमा सशक्त कार्यक्रम सञ्चालन गर्न सम्मेलनबाट सुझाव प्राप्त भएको नगरपालिका प्रमुख तीर्थराज भट्टराईले जानकारी दिए।

नेपाल, भारत, भुटान, बङ्गलादेश, संयुक्त राज्य अमेरिका, अष्ट्रेलिया र जर्मनीका सहभागी प्रतिनिधि तथा विषयविज्ञको सहभागितामा घनिभूत छलफलपछि स्थानीय तहको सहभागितामा वनजङ्गल, खोला खोल्सी, पोखरी, तालतलैया, सिमसार, जडीबुटी र जैविक मार्गको पुनःस्थापना तथा दिगो व्यवस्थापनसहितका कार्यक्रम सञ्चालन गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहकार्यलाई अभिवृद्धि गर्ने प्रस्ताव पारित गरिएको छ । जैविक विविधता साथै वन्यजन्तु संरक्षणलाई उच्च प्राथमिकतामा राख्ने, स्थानीय समुदायको सहभागितामा सात बुँदे ‘दिक्तेल घोषणापत्र’ जारी गरिएको छ ।

नेपालले सन् १९९२ को रियो सम्मेलनमा पारित जैविक विविधता महासन्धिमा नेपालले सन् १९९४ मा हस्ताक्षर गरेपछि जैविक विविधता संरक्षणमा संवैधानिक, कानुनी, नीतिगत, संस्थागत तथा संरचनागत व्यवस्था गरी कार्यान्वयन गरेको पाइन्छ । लोपोन्मुख प्रजाति रेडपान्डा (हाब्रे) र थारको संरक्षणका लागि आवश्यक कार्यक्रम सञ्चालन गर्न सङ्घ, प्रदेश, स्थानीय तहका सरकार, संरक्षण साझेदार संस्था, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था, निजी क्षेत्र र अन्य सरोकार भएका निकायहरूसँग सहकार्य गर्ने घोषणा गरिएको छ ।

किरात संस्कृति तथा मुन्दुमी सभ्यताको संरक्षण एवं प्रवर्द्धन, मुन्दुम ट्रेल (पदमार्ग)सँग जोड्न रेडपान्डा–थार पदमार्ग तथा अन्य ऐतिहासिक–सांस्कृतिक पदमार्गहरूको विकास गर्ने, प्रकृति र संस्कृतिबीचको अन्तरसम्बन्धलाई सुदृढीकरण गर्न प्रशिक्षण तथा समुदायमा आधारित होमस्टे ९घरबास० कार्यक्रम सञ्चालन गरेर पर्यापर्यटन प्रवर्द्धन गर्नेलगायत विषयमा प्रतिबद्धता प्रकट गरिएको छ ।

त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक डा. नेत्र एटमले पछिल्ला समय प्रविधिको विकाससँगै जलवायु परिवर्तनको असर बढेकाले हिमशृङ्खला पग्लने क्रम विकास भएको बताउँदै यसले समग्र जीव, प्राणी, वनस्पतिको विकासमा समस्या ल्याउने तथा अस्तित्व संकटमा पुग्न सक्ने बताए ।

उनले यस संकटलाई न्यूनीकरण गर्न परम्परागत ज्ञान, सीप र अभ्यासलाई आधुनिक प्रविधिसँग संयोजन गर्नुपर्ने बताउँदै उनले भने, ‘विशिष्ट भौगोलिक परिवेश, उचाइगत विविधता र जलवायु विविधताका कारण वन, घाँसेमैदान, सिमसार क्षेत्र र कृषि प्रणालीमा समेत समस्या आउँछ, लोपोन्मुख वन्यजन्तुको संरक्षणमा चुनौती थपिएको छ ।’

जैविक विविधता महासन्धिअनुसार पृथ्वीको जल, स्थल र आकाशमा आफ्नो जीवनयापन गर्ने सम्पूर्ण जीवजन्तु, वनस्पति र मानवबीचको सहअस्तित्व तथा अन्तरसम्बन्धमा रहेको विविधतालाई जैविक विविधता भनिएको छ । स्थलीय, जलीय, सामुन्द्रिक, सिमसार, मरुभूमि, हिमवत् क्षेत्र र पारिस्थितीय पद्दतिअन्तर्गत सम्पूर्ण जीव, जीवाणु र तिनीहरूको आनुवांशिकताबीचको भिन्नतालाई जैविक विविधताका रूपमा लिइएको छ ।

राष्ट्रिय जैविक विविधता रणनीति तथा कार्ययोजना (सन् २०१४–२०२०) अनुसार नेपालमा एक सय १८ वटा पारिस्थितिक प्रणालीको पहिचान गरिएकामा ८० पारिस्थितिक प्रणाली संरक्षण क्षेत्रमा पाइन्छन् । एकआपसमा प्रजनन गर्न सक्ने क्षमता भएका प्राणी तथा वनस्पतिको समूहलाई प्रजाति भनिन्छ । प्राणी तथा वनस्पतिका भिन्न प्रजातिको अस्तित्वलाई प्रजातिगत विविधता भनिन्छ । ‘जीन’को विविध किसिमलाई आनुवांशिक–वंशाणुगत विविधता मानिएको छ । एकपटक लोप भएको आनुवांशिक पदार्थ पुनः प्राप्त गर्न नसकिने हुँदा जीवको अस्थित्व लोप भएर जान्छ ।

विश्वमा पाइने कुल वनस्पति प्रजातिको ३.२ प्रतिशत तथा कुल प्राणी प्रजातिको १.१ प्रतिशत नेपालमा पाइन्छ भने कुल स्तनधारीको ५.२ प्रतिशत प्रजाति नेपालमा पाइन्छ । मुलुका करिब तीन सय प्रजातिका फूल फुल्ने वनस्पति तथा १४ प्रजातिका घस्रने रैथाने प्रजाति भएको बताइएको छ ।

जैविक विविधताको आर्थिक, सामाजिक, वातावरणीय, मानवीय तथा अन्य आयामसँग सहसम्बन्धित रहेकाले यसले पृथ्वीमा जैविक कार्यप्रणाली र जैविक वस्तुको दिगोपन एवं निरन्तरताका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गर्न नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट)का उपकुलपति दिलीप सुब्बाले बताए। मानव समुदायका लागि गास, बास र कपास जैविक विविधताकै उपज हुन् । दिगो विकास तथा पर्यटनको आधार मान्न सकिन्छ ।

वन्यजन्तु, जङ्गली जनावरका समस्या पहिचान गरी पूर्वसूचना प्रणाली, उपयुक्त छेकबार, समुदायमा आधारित बीमा एवं क्षतिपूर्ति प्रणाली, वन्यजन्तुबाट कम हानि–नोक्सानी हुने खेतीबाली तथा सामुदायिक द्रुत प्रतिकार्य टोली स्थापना गर्न सकेमा मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन सम्भव छ । हिमाली जैविक विविधताको संरक्षण, संवर्द्धन र ज्ञान अभिवृद्धिको सन्देश प्रवाह गर्ने उद्देश्यले नेपाल र भारतका साहित्यकारको समूहले खोटाङको चखुवादेखि भोजपुरको टेम्केडाँडासम्म सम्मेलनका क्रममा पदयात्रा गरेका थिए ।

नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव धनप्रसाद सुवेदी नेतृत्वको उक्त प्रतिनिधिमण्डलले करिब १५ किलोमिटर दूरीको पदयात्राका क्रममा स्वरोजगार, स्थानीय सीप र रैथाने सामग्रीको प्रयोग तथा पर्यटन प्रवर्द्धनमा सन्देश प्रवाह गरिएको थियो । पहिचान भएका वन्यजन्तुको अनुगमन तथा आहार–बिहारसम्बन्धी प्रभावकारी अध्ययन अनुसन्धानबारे प्रचारप्रसार गरिएको थियो ।

देशको विविधतायुक्त भौगोलिक अवस्थितिका कारण नेपालका हिमाल, पहाड, तराईका फरक हावापानी, तापक्रम पाइने भएकाले पनि विश्वमा जैविक विविधतामा सम्पन्न छ । समुन्द्र सतहदेखि तीन हजार ११५ मिटर अग्लो टेम्केडाँडा आसपास क्षेत्रको पदयात्रा गर्दा गुरा, चाप, कलकल बगेका झरना, प्रकृति, हावापानीले यात्रीलाई आनन्दको अनुभूति गराएको छ । विभिन्न स्थानका विविध प्रकारका जलवायुमा पाइने वनस्पति तथा वन्यजन्तुले उपयुक्त बासस्थान पाएका छन् । यहाँबाट विश्वको सर्वोच्च शिखर सगरमाथा नजिकबाट अवलोकन गर्न सकिन्छ ।

सम्मेलनमा साहित्यकार नगेन्द्र रेग्मीले प्रकाशन गर्नुभएको तुल्सीलाल स्मृति ग्रन्थ विमोचन गरिएको जैविक विविधता संरक्षण र दीर्घकालीन योजना निर्माण, लोपोन्मुख वन्यजन्तु संरक्षित क्षेत्र र प्राथमिकतामा राख्नुपर्नेमा समीक्षा गरिएको थियो । छिमेकी राष्ट्र भारतका वरिष्ठ साहित्यकार जीवन राणाले विमोचन गरेको उक्त पुस्तकमा साहित्यिक, ऐतिहासिक, राजनीतिक, सामाजिक, आर्थिक विकासका बारे समावेश गरिएको छ । साहित्यिक सङ्गोष्ठिमा कविहरूले रचनामार्फत कार्वन व्यापारको अवधारणाबाट अधिकतम् लाभ हासिल गर्न, कृषिजन्य तथा पशुजन्य उत्पादन प्राप्त गर्न, जडीबुटी तथा औषधिजन्य पदार्थहरू प्राप्त गर्न जैविक विविधताको संरक्षण गर्नुपर्ने विचार व्यक्त गरे।

विश्वमा जलवायु परिवर्तनका कारण आएका सामाजिक, आर्थिक, मनोवैज्ञानिक, वातावरणीय परिवर्तनका कारण वन्यजन्तु र जैविक विविधता संकटमा पर्दै गएकाले समस्या समाधानका विकल्प पहिचान गर्न नेपाल र भारतका साहित्यकारले कविता वाचनसमेत गरेका थिए । लोपोन्मुख वन्यजन्तु रेडपाण्डा र थारको बाँसबाट बनाइएका कलात्मक चित्र आकर्षणको केन्द्र बनेको सम्मेलनमा संरक्षणसम्बन्धी सडक नाटक प्रदर्शन गरिएको थियो ।

सरकारको १०० पर्यटकीय गन्तव्य सूचीमा पर्ने ‘मुन्दुम ट्रेल’ पदमार्ग नजिकको जङ्गलमा रेडपाण्डा पाइने भएकाले ‘मुन्दुम ट्रेल–रेडपाण्डा–थार रुट’ पदमार्ग प्रवर्द्धन गर्ने नगरपालिकाको योजना छ । राजनीतिज्ञ विष्णु आभूषणले नेपाल जैविक विविधताको दृष्टिले सम्पन्न मुलुक भए पनि विश्वव्यापी रूपमा जैविक विविधताको विनास द्रुतगतिमा अघि बढिरहेको बताउँदै दीर्घकालीन योजना निर्माण, लोपोन्मुख वन्यजन्तु प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए।

उहाँका अनुसार बढ्दो जनसङ्ख्या, अव्यवस्थित बसोबास, सहरीकरण, औद्योगीकरण, पेट्रोलियम पदार्थको अत्यधिक खपत, कृषि क्षेत्रमा रासायनिक प्रयोगमा अत्यधिक वृद्धिले पर्यावरण तथा उपभोग्य वस्तुमा पाइने विषादीका कारण जैविक विविधता संकटमा परेको पाइएको छ ।

अतिवृष्टि, अनावृष्टि, दैवी प्रकोप प्राकृतिक तथा मानवीय कारणहरूले गर्दा जैविक प्राणीहरूको बासस्थान तथा खाद्यान्नको अभाव हुँदै आएको छ । मानवीय गतिविधि तथा प्राकृतिक विपद्का कारण केही वनस्पति तथा वन्यजन्तु दुर्लभ र लोपोन्मुख अवस्थामा पुगेका छन् ।

विश्वको लोपोन्मुख वन्यजन्तुमा पर्ने खोटाङमा रहेको पुष्टि भएपछि ‘समुदायमा आधारित रेडपाण्डा ‘समुदायमा आधारित रेडपाण्डा संरक्षण कार्यक्रम’ सञ्चालन गरिएको छ ।

किरात समुदायको उद्गमस्थल हलेसीस्थित तुवाचुङ–जायजुम हुँदै मध्यपहाडी लोकमार्ग सडकखण्डको हुर्लुङदेखि रूपाकोटबाट बगरेभञ्ज्याङ, सिकुरीभञ्ज्याङ, साप्सुढाप, मेरुङ हुँदै मुन्दुम ट्रेल जोड्ने पदमार्गलाई ‘मुन्दुम ट्रेल रेडपाण्डा–थार रुट’ नामकरण गरिएको छ । स्थानीयस्तरमै रोजगारी सृजना गर्ने उद्देश्यसहित बाँस तथा बाँससम्बन्धी उद्योगको प्रवर्द्धन कार्यसमेत सञ्चालित छन् । बाँसबाट बनाइएका कलात्मक वस्तुले पनि यहाँको सौन्दर्य थपेको छ ।

स्थानीयस्तरमा बाँसलाई भवन निर्माण, हस्तकला, व्यावसायिक उत्पादन तथा वातावरणमैत्री बनाउन, बाँससम्बन्धी सीप विकास, प्रविधि विस्तार र उद्यमशीलता प्रोत्साहनमा सहयोग गरेको नगरपालिकाले बाँस तथा बाँसजन्य सामग्रीको प्रवर्द्धन एवं नीति निर्माणका लागि पहल गरेपछि सहरी विकास मन्त्रालयबाट बाँसका संरचना निर्माणसम्बन्धी मार्गदर्शन स्वीकृत भएको छ । संंरचना निर्माणमा मितव्ययिता अपनाउन प्राविधिक विवरण रहेको मार्गदर्शनमा भूकम्प प्रतिरोधी, वातावरणमैत्री, घरका नमूना डिजाइनसमेत समावेश गरिएका छन् ।

नेपालमा ७५ प्रकारका वनस्पति वर्ग, ३५ प्रकारका वन, वनस्पति र प्राणी १० हजार बढी प्रजाति पहिचान भएका छन् । बीसवटा संरक्षित क्षेत्र, १० अन्तरराष्ट्रिय महत्वका सिमसार क्षेत्र, ११ वनस्पति उद्यान, २३ हजारभन्दा बढी सामुदायिक वन र १० हजारभन्दा बढी अन्य समुदायमा आधारित वनमा लाखौँ प्रजातिका जैविक विविधता पाइने जनाइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *