काठमाडौं । लोकतन्त्रमा सबैभन्दा ठोस मान्यताको आधार हो – कानुनको शासन। तर नेपालमा यो आधार बारम्बार नेताहरूको व्यक्तिगत प्रभाव र दलगत शक्तिको सामु कमजो¥र देखिने गरेको छ। पछिल्लो उदाहरण हुन् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने, जो रुपन्देही कारागारमा रहँदा रहँदै पार्टी सञ्चालनमा सक्रिय छन्।
सहकारी अपचलन र संगठित अपराध अभियोगमा २०८१ चैत २५ देखि जेलमा रहेका लामिछानेको निर्देशनअनुसार पार्टी सञ्चालन भइरहेको छ। पार्टीका शीर्ष नेता कारागार पुगेर ‘निर्देशन’ लिइरहेका छन् भने संसदीय दलको बैठकसमेत कारागार नजिकैको होटेलमा राखिँदै आएको छ।
यस अवस्थाले दुई प्रमुख प्रश्न उठाउँछः पहिलो, कानुनी रूपमा स्वतन्त्रताबाट वञ्चित एक व्यक्ति पार्टी सञ्चालन गर्न कसरी सक्षम हुन्छ ? दोस्रो, रास्वपा नेतृत्वको नैतिक र लोकतान्त्रिक प्रतिबद्धता कत्तिको गहिरो छ ? रास्वपाभित्र लामिछानेलाई पुर्पक्षका लागि कारागारमा पठाएपछि रास्वपाको नेतृत्व संकटमा परेको थियो । पार्टीभित्र निकै गहिरो उथलपुथल समेत पनि भयो । त्यसपछि कारागारमा रहेका रवि लामिछानेको निर्देशन हस्ताक्षर अभियानदेखि विभिन्न कार्यक्रमहरुमा व्यस्त छन्, रास्वपा सांसदहरु ।
रवि लामिछाने संघीय संसद्बाट निलम्बनमा परेका छन्, तर संसदीय दलका नेता अझै उनी नै छन्। यसले उनको व्यक्तिगत ‘पोलिटिकल ब्राण्ड’ बलियो देखाए पनि पार्टी संस्थागत ढाँचामा गम्भीर कमजोरीको संकेत गरेको छ । अन्य राजनीतिक दलका नेताहरुमाथि आरोप लागेपछि संघीय संसदबाट सभामुखको निर्देशनमा पद गुम्छ र अनुसन्धानपछि पार्टीले निर्णय गर्ने गरेको परम्परा रहेको छ । तर रास्वपाले सहकारी ठगी प्रकरणमा कारागारमा रहेका रवि लामिछानेलाई नै सभापति बनाइरहेका छन् । सो विषयमा रास्वपाको नेतृत्व र क्रियाकलापका बारेमा चौतर्फी विरोध र आलोचना भइरहेको छ ।
नेल्सन मण्डेला, औङ सान सूकी जस्ता नेताहरूको उदाहरण दिएर लामिछानेको कारागारभित्रको सक्रियतालाई सही ठहराउने प्रयास भइरहेका छन्। तर, ती ऐतिहासिक प्रसङ्गहरू अधिनायकवादी व्यवस्थाको प्रतिरोधमा जन्मिएका थिए, कानुनी प्रक्रियाको उल्लंघनबाट होइन।
रास्वपाले र विविरुद्धको मुद्दालाई ‘राजनीतिक प्रतिशोध’ भन्दै आएको छ। यसले जनस्तरमा केही सहानुभूति त बनाएको छ, तर यो भावनात्मक तरंगमात्रै हो कि संस्थागत मूल्यको चुनौती ? त्यो भने समयले देखाउनेछ।
नेपालको राजनीतिमा कारागारबाटै नेतृत्व गर्ने परम्परा नयाँ होइन। तर जब लोकतन्त्र स्थापनाको अढाई दशकपछि पनि पार्टीहरू कारागारलाई नेतृत्वको ‘बैकअप अफिस’ जस्तो प्रयोग गर्न थाल्छन्, तब त्यो लोकतन्त्रकै मूल्यमान्यतामाथि प्रश्न उठ्ने बेला हो। रास्वपाले पुराना दलहरु जस्तो नीति नियमलाई व्यवहारिक रुपमा दिन सकेको छैन् । सहकारी ठगी मात्र होइन् लामिछानेको राष्ट्रियदेखि अन्तराष्ट्रिय स्तरसम्म नै विवादित चरित्र छ ।
लामिछाने फन्डा बनाउन र आफुलाई धमिलो पानीबाट सङ्लो बनाउने खेलमा विगतदेखि सक्रिय चतुर खेलाडी हुन् । जसको परिणामस्वरुप अहिले उनी कारागारमा बस्न बाध्य छन् । आफूले गरेका गल्ति लुकाएर लुक्दैन, एकदिन छर्लङ देखिन्छ । अहिले रवि लामिछानेको कर्तुतबारे थाहा नहुने मान्छे नै छैनन् ,तर रास्वपाका सांसदहरु र नेता तथा कार्यकर्ताहरुले लामिछानेमाथि लागेको दाग मेटाउन हरेक गतिविधी गरेर जनतालाई भ्रममा पारेका छन् ।




