राजनीति

संसदमै मन्त्रीहरूको निद्रा–प्रदर्शन, सरकारको गम्भीरता कता हरायो?

काठमाडौं। राष्ट्रियसभामा नेपाल अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति सम्बन्धी महत्त्वपूर्ण अध्ययन प्रतिवेदनमाथि बहस भइरहँदा तीन मन्त्री भने सपनाको दुनियाँमा हराएका देखिए।

प्रतिवेदनमाथिको छलफलको बेला प्रधानमन्त्री केपी शर्मा ओलीकै छेउमा बसेका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी र रक्षामन्त्री मानवीर राई निदाएको अवस्थामा देखिए।

संसदजस्तो गम्भीर स्थानमा मन्त्रीहरू निदाएको दृश्य क्यामेरामा कैद भएपछि सामाजिक सञ्जालमा आलोचना सुरु भएको छ। जनताका करबाट तलब खाने मन्त्रीहरू नीतिगत छलफलमै निदाउँदा, यो सरकारप्रति नागरिकको भरोसा कति बाँकी रहला भन्ने प्रश्न उठ्न थालेको छ।

यसअघि पनि प्रतिनिधिसभा बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङ निदाएको दृश्य चर्चामा आएको थियो। प्रधानमन्त्री ओलीले बोलाउँदा समेत मन्त्री गुरुङ नउठेको प्रसंग अझै सेलाएको छैन।

राजनीतिक विश्लेषकहरू भन्छन् — “देश विकासशील राष्ट्रमा स्तरोन्नति हुँदैछ भने मन्त्रीहरू पनि गम्भीर हुँदै अघि बढ्नुपर्छ। यस्तो अवस्थामा बैठकमा निदाउनु जनताप्रतिको गैरजिम्मेवारी हो।”

राष्ट्रियसभाको यो दृश्यले सरकारभित्रको अनुशासन र सांसदहरूको व्यावसायिक नैतिकता कति कमजोर छ भन्ने प्रष्ट भएको भन्दै आलोचकहरूले गम्भीरता र जवाफदेहिता माग गरेका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *