काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) आन्तरिक विवादको चरम चरणमा पुगेको छ। काठमाडौंको बानेश्वरमा आज भइरहेको राष्ट्रिय भेलाले पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठलाई पदबाट हटाउने तयारी गरेको छ।
पार्टीका बहुमत सदस्यहरूले माग गरेको बैठक नबोलाएको र पार्टी विधि उल्लंघन गर्दै कार्यबाहक अध्यक्ष तोकिएको आरोपसहित श्रेष्ठविरुद्ध कारबाही प्रक्रिया अघि बढाइएको हो। केन्द्रीय समिति बैठकबाट २४ घण्टे स्पष्टीकरण माग गरिएको थियो, तर समयसीमा बितिसक्दा पनि रञ्जिताले जवाफ पेश गरेकी छैनन्।
यसपछि पार्टी अनुशासन समितिले श्रेष्ठलाई कारबाही गर्न सिफारिस गरेको छ। बहुमत पक्षले राष्ट्रिय भेलामार्फत उनीमाथि औपचारिक निर्णय लिने संकेत देखिएको छ।
पार्टी विभाजनको संघारमा पुगेको संकेत यस घटनाले झन् प्रष्ट बनाएको छ, जहाँ नेतृत्वमा अविश्वास र संगठनभित्र गहिरो असन्तोष सतहमा आइपुगेको छ। अबको निर्णयले नाउपाको भविष्य कतातिर मोडिन्छ भन्ने जिज्ञासा बढ्दो छ।




