काठमाडौं । ७ बुँदे माग राख्दै आजदेखि अनिश्चितकालीन माइतीघर मण्डलामा आमरण अनशन सुरु गरेका खोटाङ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईसँग सरकारी टोलीले प्रत्यक्ष भेटवार्ता गरेको छ। सहरी विकास मन्त्रालयका उच्च अधिकारीहरूको टोली भट्टराईसँगको वार्तामा माइतीघरमै पुगेका हुन् ।
छलफलमा सहरी विकास मन्त्रालयका प्रवक्ता नारायण प्रसाद मैनाली, महानिर्देशक मच्चा काजी महर्जन, उपमहानिर्देशक सुनिल कुमार ठाकुर र नगरपालिका संघका अध्यक्ष भीमप्रसाद ढुङ्गाना सहभागी थिए।
भट्टराईको तर्फबाट उपमेयरसहितको प्रतिनिधिमण्डलले अब वन मन्त्रालयमा गएर विस्तृत छलफल गर्ने तयारी गरेको छ। सरकारी टोलीले भट्टराईका मागहरूबारे बुझी सकारात्मक पहल गरिने संकेत दिएको छ।
सात बुँदे मागमा बाँस उद्योगलाई प्राथमिकता, जलवायु क्षतिपूर्ति, प्रदूषण नियन्त्रण, पूर्वाधार निर्माण र वन्यजन्तु व्यवस्थापन लगायत विषय समावेश छन्। सरकारले वार्तामा चासो देखाउन थालेसँगै सत्याग्रह समाधानको दिशामा अघि बढ्ने आशा गरिएको छ।




