काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतृत्व चयनका लागि आज दुई जना नेताबीच प्रतिस्पर्धा हुँदैछ। प्रदेश सभापति इन्द्र बहादुर बानियाँ र हालका मुख्यमन्त्री बहादुरसिंह लामाले संसदीय दलको नेताका लागि उम्मेदवारी दिएका हुन्।
दुवै नेता कांग्रेस सभापति शेरबहादुर देउवा निकट मानिन्छन्। मंगलबार बानियाँले लामाविरुद्ध दर्ता गराएको अविश्वास प्रस्ताव दलभित्रै बहुमतले पारित भएको थियो। ३७ मध्ये २२ सांसद बानियाँ पक्षमा र १५ सांसद लामाको पक्षमा देखिएका थिए। यद्यपि, अविश्वास प्रस्ताव पारित भए पनि लामा अहिले पनि मुख्यमन्त्री पदमा कायम छन्।
निर्वाचन समितिले कार्यतालिका सार्वजनिक गर्दै ११ बजेसम्म उम्मेदवारी दिने समय तय गरेको थियो। उम्मेदवारको प्रारम्भिक नामावली ११स्३० बजे, नाम फिर्ता लिने समय दिउँसो १२ बजे, अन्तिम नामावली १ बजे र मतदान प्रक्रिया २ देखि ३ बजेसम्म हुने जनाएको छ। यो प्रतिस्पर्धाबाट बागमती कांग्रेसमा नेतृत्वको नयाँ अध्याय सुरु हुने अपेक्षा गरिएको छ।
यस्तै संसदीय दलको नेताको हैसियत गुमाइसकेका मुख्यमन्त्री बहादुरसिंह लामाले तीन मन्त्री नियुक्त गरेका छन्। गोविन्द लम्साल, माया श्रेष्ठ र गीता गुरुङलाई मन्त्रीमा नियुक्त गरिएको हो।
लम्साललाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ। श्रेष्ठ र गुरुङको जिम्मेवारी भने तोकिन बाँकी छ। बागमतीमा कांग्रेसले सम्हालेका पाँच मन्त्रालय मन्त्रीविहीन थिए। साउन ९ गते चारजना र १३ गते एकजना मन्त्रीले लामाविरुद्धको अविश्वास प्रस्तावमा हस्ताक्षर गर्दै राजीनामा दिएका थिए। बागमति प्रदेशमा देखिएको विवाद र नेतृत्व सन्तुलनका लागि मतदान र मत परिणाम नै निर्णायक हुनेछ ।




