देश

नेपाल–भारत सीमा सीमास्तम्भ मर्मत र नयाँ प्रविधि अपनाउने निर्णय

काठमाडौं । झन्डै ६ वर्षको अन्तरालपछि नेपाल–भारत सीमा कार्यदलको सातौं बैठक मंगलबार भारतको नयाँदिल्लीमा सम्पन्न भयो। बैठकले सीमा व्यवस्थापनमा सुधार गर्ने निर्णयहरू गर्दै द्विपक्षीय सहकार्य पुनः सक्रिय बनाएको छ।

बैठकमा नेपालतर्फबाट सर्वे विभागका महानिर्देशक प्रकाश जोशीले नेतृत्व गरेका थिए भने भारततर्फबाट सर्वेक्षक महानिर्देशक हितेशकुमार एस। मकवानाले प्रतिनिधित्व गरे। बैठक सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको नेपाली दूतावासले जानकारी दिएको छ।

मुख्य निर्णयहरूमा सीमास्तम्भहरूको निरीक्षण, मर्मत तथा संरक्षणका लागि अद्यावधिक मोडालिटी अपनाउने, र सर्भे तथा नक्सांकनमा नयाँ प्रविधिहरू प्रयोग गर्ने सहमति रहेको छ।

बैठकले सन् २०१९ मा देहरादूनमा भएको अघिल्लो बैठकका निर्णयको प्रगति समीक्षा गर्दै आउँदा दिनमा सर्भ अफिसर समिति को अर्को बैठक सन् २०२५ अगस्टमा नेपालमा गर्ने निर्णय पनि गरेको छ।

कोभिड–१९ महामारी र सीमा विवादका कारण थाती रहेको यो बैठकले अब सीमा व्यवस्थापनका प्राविधिक कार्यहरूलाई तीव्र बनाउने अपेक्षा गरिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *