काठमाडौं । बागमती प्रदेशमा नेपाली कांग्रेसभित्रको राजनीतिक रस्साकस्सी चुलिँदा पार्टी केन्द्रले अनुभवी नेता राजेन्द्र केसीलाई विवाद समाधानको ‘फायर फाइटर’का रूपमा खटाएको छ। काठमाडौं–१० बाट प्रतिनिधिसभा सदस्यसमेत रहेका केसीलाई संसदीय दलको विधानअनुसार औपचारिक रूपमा यो जिम्मेवारी दिइएको हो।
बागमतीमा कांग्रेसका ३७ सांसदमध्ये २१ जनाले वर्तमान संसदीय दलका नेता तथा मुख्यमन्त्री बहादुरसिंह लामाविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका छन्। यो संख्या संसदीय दलमा नेताविरुद्ध प्रस्ताव पारित गर्न आवश्यक ५० प्रतिशतभन्दा बढी भएकाले गम्भीर संकटको संकेत हो।
कांग्रेस विधानको दफा २२, उपदफा २ अनुसार नेताविरुद्धको अविश्वास प्रस्ताव प्रक्रिया अघि बढाउन पार्टी केन्द्रीय समितिको पर्यवेक्षकको उपस्थिति आवश्यक छ। यही व्यवस्था अनुसार राजेन्द्र केसीलाई बागमती पठाइएको हो। उनी आइतबारदेखि नै उक्त जिम्मेवारीमा लागिसकेका छन्।
२१ सांसदको हस्ताक्षरसहितको प्रस्ताव केवल नेतृत्व परिवर्तनको माग मात्र होइन, कांग्रेसभित्र बागमतीमा गहिरिँदो असन्तुष्टि र गुटगत असमझदारीको इशारा हो। इन्द्र बानियाँ नेतृत्वमा दर्ता भएको प्रस्तावले लामाको नेतृत्वमा भरोसा घट्दै गएको देखाउँछ।
राजेन्द्र केसीको भूमिका अब निर्णायक हुनेछ – एकातिर विधिसम्मत रुपमा प्रक्रिया अगाडि बढाउनु छ, अर्कोतिर पार्टीको आन्तरिक एकता पनि जोगाउनु छ। तर, यति स्पष्ट विभाजनबीच समाधान खोज्नु सजिलो देखिँदैन।
कांग्रेसको बागमती इकाईमा देखिएको नेतृत्व संकट अब पार्टीको केन्द्रीय नेतृत्वसमक्ष ठूलो परीक्षा बनेको छ। केसीको संयोजनले समाधान ल्याउँछ कि झनै खिचातानी बढाउँछ, अब त्यसतर्फ सबैको ध्यान केन्द्रित हुने निश्चित छ।




