काठमाडौं । बागमती प्रदेश सरकारमा सत्ता संघर्ष चुलिँदै गएको छ। नेपाली कांग्रेसबाट सहभागी चार मन्त्रीले सामूहिक राजीनामा दिँदै आफ्नै मुख्यमन्त्री बहादुरसिंह लामाविरुद्ध विद्रोहको संकेत दिएका छन्। बागमती प्रदेश सरकारकामा कांग्रेसका ८ जना सांसदहरु छन् ।
राजीनामा दिने मन्त्रीहरूमा संस्कृति तथा पर्यटनमन्त्री विमल ठकुरी, सहकारी तथा गरिबी निवारणमन्त्री मदुकुमार श्रेष्ठ, युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जन, र आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछाने रहेका छन्। यी चारै जना केही दिनअघि मात्र कांग्रेस सभापति शेरबहादुर देउवासँग भेट गरेका थिए।
सूत्रका अनुसार, उनीहरूले लामालाई संसदीय दलको नेताबाट हटाएर नयाँ मुख्यमन्त्री चयन गर्न दबाब दिन राजीनामा दिएका हुन्। ३७ सदस्यीय कांग्रेस संसदीय दलमा २४ जना सांसद लामाविरुद्ध उभिएको बताइएको छ, यद्यपि लिखित हस्ताक्षर भने २१ जनाको मात्र देखिएको छ।





