राजनीति

कुलिङ पिरियडबारे संसदमा बहस, एमालेको संशोधनमा काँग्रेसको चासो

काठमाडौँ । सत्तारुढ दल नेकपा एमालेले संघीय निजामती सेवा सम्बन्धी विधेयकमा आफ्ना सांसदहरूले स्वतन्त्र रूपमा संशोधन प्रस्ताव राखेको स्पष्ट पारेको छ। नेपाली काँग्रेसले यसबारे जिज्ञासा राखेपछि एमालेले आफ्ना सांसदहरू स्वतन्त्र भएको जनाउँदै संशोधनको विषय सामान्य रहेको जनाएको हो।

राष्ट्रिय सभामा छलफल भइरहेको निजामती विधेयकमा कुलिङ पिरियड हटाउने प्रस्ताव एमाले सांसदहरूले दर्ता गराएका छन्। यसबारे काँग्रेसले स्पष्टिकरण माग्दा एमालेले सांसदहरू स्वतन्त्र रहेको र तिनैले आफ्नै तर्फबाट संशोधन दर्ता गराएको जानकारी दिएको काँग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरेले बताए।

शुक्रवार बिहान बुढानीलकण्ठस्थित पार्टी सभापति शेरबहादुर देउवाको निवासमा बसेको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रमुख सचेतक घिमिरेले काँग्रेसकै केही सांसदहरूले भूमि ऐनमा पनि संशोधन राखेकाले यसलाई सामान्य रूपमा लिनुपर्ने बताए।

उनले भने, “एमालेको तर्फबाट स्पष्ट भनिएको छ कि सांसदहरू स्वतन्त्र छन्। आफ्नो ढंगले संशोधन प्रस्ताव राख्न सक्छन्। हाम्रो पार्टीका पनि १०/१२ जना सांसदहरूले भूमि ऐनमा संशोधन राख्नुभएको थियो, जुन सरकारकै विधेयक थियो।”

कुलिङ पिरियडसम्बन्धी विषयमा थप छलफल गरेर निष्कर्षमा पुगिने पनि प्रमुख सचेतक घिमिरेले जानकारी दिए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *