काठमाडौँ। नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण नगर्ने निर्णय गरेपछि उहाँको सक्रिय राजनीतिमा फर्कने योजना तत्कालका लागि प्रभावित भएको छ । तर, भण्डारीले आफूलाई नथाकिएको भन्दै अझै पनि राजनीतिक सम्भावनाको ढोका खुला रहेको संकेत दिएकी छन् ।
एमालेको सचिवालय, पोलिटब्यूरो र केन्द्रीय कमिटी बैठकमा भण्डारीविरुद्ध उठेका आलोचनाका आधारमा सदस्यता पेन्डिङमा राख्ने निर्णय भएपछि उनी आक्रोशित बनेकी छन् । सोही सन्दर्भमा भण्डारी आज दिउँसो ३ बजे कार्की ब्याङ्क्वेटमा विशेष पत्रकार सम्मेलन गर्न लागेकी हुन् ।
पत्रकार सम्मेलनमा भण्डारीले एमालेको निर्णयबारे औपचारिक धारणा सार्वजनिक गर्ने र आगामी योजनाको बारेमा स्पष्ट दृष्टिकोण राख्ने बताइएको छ । एमालेले देशको गरिमा बोकेको व्यक्तित्वले प्रत्यक्ष दलगत राजनीतिमा फर्किनु नैतिक दृष्टिले उचित नहुने भन्दै सदस्यता नवीकरण नगर्ने निर्णय गरेको थियो ।
तर, निकटवर्तीहरूका अनुसार भण्डारीले आफू अघि बढिसकेकाले अब पछाडि फर्कन नहुने बताउँदै आन्तरिक तयारी गरिरहेको जनाइएको छ । भण्डारीले पार्टीभित्र आफूविरुद्ध लागेकाहरूप्रति असन्तुष्टि जनाउँदै चुनौतीपूर्ण भाषा प्रयोग गरिरहेकी छन् ।
उनी आजको पत्रकार सम्मेलनमा के बोल्छिन् भन्ने चासो चुलिएको छ । कतिपयले यसलाई आगामी राजनीतिक समीकरणको संकेतका रूपमा समेत हेरिरहेका छन् ।




