राजनीति

मनमोहन बाहेक सबै कम्युनिस्ट प्रधानमन्त्री भ्रष्टाचारमा मुछिएको जनार्दन शर्माको आरोप

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा पूर्व अर्थमन्त्री जनार्दन शर्माले नेपालका अधिकांश कम्युनिस्ट प्रधानमन्त्रीहरूलाई कमिसन र असुली धन्दाबाट टाढा रहन नसकेको आरोप लगाएका छन्।

माक्र्सवादी अध्ययन केन्द्रद्वारा आयोजित पुष्पलाल स्मृति दिवस कार्यक्रममा बोल्दै शर्माले मनमोहन अधिकारीबाहेक कुनै पनि कम्युनिस्ट प्रधानमन्त्रीले सिद्धान्तअनुसार काम नगरेको स्पष्ट पारे। शर्माले भने, प्रधानमन्त्रीले भ्रष्टाचार गर्न नदिने अडान लिने हो भने आधा भ्रष्टाचार त त्यसै घट्छ। तर, त्यस्तो दृढता नेतृत्वमा देखिएको छैन।

उनका अनुसार मनमोहन अधिकारीबाहेक बाँकी सबै कम्युनिस्ट प्रधानमन्त्रीले सत्ता चलाउँदा असुली धन्दा गरेको ठहर भएको छ। शर्माले अहिलेको कानुनी संरचना दलाल पुँजिपति पक्षीय रहेको आरोप लगाए। उनले सत्ताको लोभमा कम्युनिस्टहरूले राज्य पुनर्संरचनाको एजेण्डा नै बिर्सिएर अघि बढेको बताए । त्यस्तै, समाजवाद निर्माणको संवैधानिक दायित्वसमेत कम्युनिस्ट पार्टीहरूले पूरा गर्न नसकेको उनको टिप्पणी थियो।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *