राजनीति

सभापति देउवाको स्पष्ट जवाफ – सभापतिमा कसैलाई वचन दिएको छैन

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १५औँ महाधिवेशनमा सभापतिको उम्मेदवार बनाउने विषयमा हालसम्म कसैलाई कुनै वचन नदिएको स्पष्ट पारेका छन्। बूढानीलकण्ठस्थित निवासमा मंगलबार बिहान भेट्न पुगेका कांग्रेस नेताहरू—पूर्व उपसभापति विमलेन्द्र निधि, गोपालमान श्रेष्ठ, विजयकुमार गच्छदार, पूर्व महामन्त्री प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला र डा. प्रकाशशरण महतसँगको छलफलमा देउवाले यस्तो धारणा राखेका हुन्।

‘ग्रिन सिग्नल’को हल्लाबारे नेताहरूको जिज्ञासा
भेटमा सहभागी नेताहरूले हाल केही नेताहरूले आफूलाई सभापतिको ‘ग्रिन सिग्नल’ मिलेको भन्दै प्रचार गरिरहेको भन्दै देउवालाई सोधपुछ गरेका थिए। जवाफमा देउवाले स्पष्ट रूपमा भने, “मैले अहिलेसम्म कसैलाई पनि वचन दिएको छैन। उचित समय आएपछि सबैसँग सल्लाह गरेर निर्णय लिन्छु।”

भेटमा पूर्व उपसभापति गोपालमान श्रेष्ठले १४औँ महाधिवेशनमा देउवालाई सहयोग गरेको स्मरण गर्दै, “अबको महाधिवेशनमा मेरो पालो हो कि होइन ?” भनेर सोधेका थिए। देउवाले भने, “बेला आएपछि सल्लाह गरेर अघि बढ्नेछु।”

भेटमा डा। आरजु राणा देउवा पनि उपस्थित रहेको नेताहरूले बताएका छन्। छलफलको अन्त्यमा अन्य नेताहरूले पनि पार्टीभित्र नेतृत्वको विषयमा समन्वय र स्पष्टता आवश्यक रहेको धारणा राखे। केही नेताले देश दौडाहा सुरु गरिसकेको भन्दै औपचारिक निर्णय बिना प्रचार नगरिनु उपयुक्त हुने धारणा राखे। देउवाले यसबारेमा प्रत्यक्ष प्रतिक्रिया नदिए पनि उनले टाउको हल्लाएर चासो लिएको संकेत दिएका थिए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *