काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको नेतृत्व अब राष्ट्रिय सभा सदस्य भगवती न्यौपानेको जिम्मामा जाने संकेत देखिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले न्यौपानेलाई मन्त्री बनाउने अन्तिम तयारी गरिरहेको स्रोतहरूले जनाएका छन्।
राजकुमार गुप्ताको घुस काण्डमा मुछिएर राजीनामा दिएपछि रिक्त भएको मन्त्रालयको जिम्मेवारी एमालेकी राष्ट्रिय सभा प्रमुख सचेतक न्यौपानेलाई दिइने भएको हो। तनहुँकी न्यौपानेको राष्ट्रिय सभा कार्यकाल आगामी फागुनमा समाप्त हुँदैछ। न्यौपानेले आफूलाई प्रधानमन्त्रीको सचिवालयबाट अनौपचारिक बधाई आएको भन्दै जिम्मेवारीको संकेत पाएको बताएकी छन्। अब औपचारिक घोषणा मात्र बाँकी रहेको बुझिएको छ।
घुस प्रकरणले बदनाम भएको मन्त्रालयमा अब महिलाको नेतृत्व ल्याउँदै ओली सरकारले नयाँ सन्देश दिन खोजेको देखिन्छ। न्यौपानेको नियुक्तिले विश्वास पुनःस्थापनाको प्रयास हो या सत्ताभित्रको शक्ति सन्तुलन, त्यो भने चाँडै स्पष्ट हुनेछ।




