काठमाडौं । प्रतिनिधि सभाको आजको बैठकमा पाँच मन्त्रालयका मन्त्रीहरूले मौखिक प्रश्नहरूको जवाफ दिने भएका छन्। बैठक दिउँसो १ बजे बस्ने कार्यक्रम छ। संसदमा आज सहरी विकास मन्त्री प्रकाशमान सिंह, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी, भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे, र ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्काले आ–आफ्नो मन्त्रालयसम्बन्धी प्रश्नहरूको मौखिक रूपमा उत्तर दिनेछन्।
बैठकमा युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले ‘राष्ट्रिय खेलकुद विकास ९पहिलो संशोधन० विधेयक, २०८२’ संसदमा पेश गर्ने कार्यक्रम पनि तय गरिएको छ। साथै, प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बैठकमा सम्बोधन गर्ने तयारी रहेको छ। दाहालको सम्बोधनले संसदमा समसामयिक राजनीतिक विषयमा बहसलाई तीव्रता दिने अनुमान गरिएको छ।
आजको बैठक सरकार र विपक्षी दलहरूबीच नीति, कार्यक्रम र विधेयकमाथिको छलफलका दृष्टिले महत्त्वपूर्ण रहने अपेक्षा गरिएको छ।




