काठमाडौं । रसुवागढीमा आएको भीषण बाढीले जनधनमा ठुलो क्षति पुर्याएको छ। बुधबारको प्रतिनिधिसभा बैठकमा गृहमन्त्री रमेश लेखकले बाढीबाट भएको क्षतिको विस्तृत विवरण संसद् समक्ष प्रस्तुत गरे। गृहमन्त्रीका अनुसार नेपाल–चीन सीमामा पर्ने लेन्दे खोलाबाट आएको बाढीले अहिले सम्म २ प्रहरी, ११ नेपाली सर्वसाधारण र ६ चिनियाँ नागरिकसहित १९ जनालाई बेपत्ता बनाएको छ। हालसम्म त्रिशूली किनार र अन्यत्र विभिन्न ठाउँमा नाम नखुलेका शवहरू फेला परेका छन्, जसले बेपत्ताहरूको खोजी अझ जटिल बनाएको छ।
बाढीले भौतिक संरचनामा पनि गम्भीर असर पारेको छ। मितेरी पुल पूर्ण रूपमा बगाएको छ, जसले नेपाल–चीन आवतजावत ठप्प पारेको छ। स्याफ्रुवेसीदेखि टीमुरेसम्मको सडक अवरुद्ध भएको छ। रसुवागढी हाइड्रो र त्रिशूली थ्रीडी जलविद्युत आयोजना बगाएको छ, संयुक्त जाँच चौकीमा समेत क्षति पुगेको छ।
सवारीसाधनको हिसाबमा २३ ट्रक, ३५ विद्युतीय गाडी, र ६ सिनो ट्रक बगाइसकेको जानकारी मन्त्री लेखकले दिए। साथै, हालसम्म ३० जनाको हवाई उद्धार गरिएको छ।
बाढीपछि उद्धार, राहत, र पुनर्निर्माणको प्रक्रिया सुरु भएको बताउँदै मन्त्री लेखकले सम्बद्ध निकायहरूलाई सक्रिय रूपमा जुट्न निर्देशन दिएका छन्। यो प्राकृतिक विपद्ले सीमा क्षेत्रको पूर्वाधार र जनजीवनमा गहिरो घाउ पुर्याएको छ।




