काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले अहिले मुलुकमा लगानीको पर्याप्त अवसर रहेको भन्दै बैंकमा रहेको थुप्रिएको रकम उत्पादक क्षेत्रमा लगानी गर्नुपर्ने बताएका छन्।
आर्थिक पत्रकार समाज (सेजन) द्वारा आयोजित प्रि–मोनिटरी पोलिसी डिस्कसनु कार्यक्रममा बोल्दै गभर्नर पौडेलले बैंकिङ प्रणालीसँग ५ खर्ब २० अर्ब रुपैयाँभन्दा बढी रकम थन्किएको उल्लेख गर्दै, अब त्यो रकमलाई ऊर्जाजस्तै उत्पादनशील क्षेत्रहरूमा प्रवाह गर्ने समय आएको बताए।
ूबैंकमा निक्षेप पर्याप्त छ, विदेशी मुद्रा सञ्चिति पनि सन्तोषजनक छ। यस्तो अवस्थामा मौद्रिक र वित्तीय नीतिबीच समन्वय गरेर दिगो र सन्तुलित विकासतर्फ अघि बढ्नुपर्ने समय हो, उनले स्पष्ट पारे। गभर्नर पौडेलले ग्रामीण क्षेत्रमा अपेक्षित मात्रामा ऋण नपुगेको स्वीकार गर्दै आगामी मौद्रिक नीतिमा त्यसलाई प्राथमिकताका साथ सम्बोधन गरिने जनाए।
उनले भने, हामीले जुन क्षेत्रमा ऋण जानुपर्छ भनेका छौं, त्यहाँ पुग्न सकेको छैन भन्ने गुनासो छ। आगामी मौद्रिक नीतिमा यस्तो कमजोरी सुधार्ने प्रयास हुनेछ। पौडेलका अनुसार आगामी मौद्रिक नीति समावेशी हुने छ, जसले सबै क्षेत्र र वर्गलाई आर्थिक रूपमा उकास्ने लक्ष्य लिएको छ। साथै, दिगो विकासलाई सधैं प्राथमिकतामा राख्ने राष्ट्र बैंकको नीति यथावत रहने उनले दोहोर्याए।




