काठमाडौं । नेपाली कांग्रेस पार्टीमा अर्बपति तथा सांसद विनोद चौधरीको भूमिका आर्थिक, कूटनीतिक र संगठनात्मक तीनवटै क्षेत्रमा महत्त्वपूर्ण रहँदै आएको छ। उनले पार्टीभित्र केवल संसदीय हैसियतमा मात्र होइन, राजनीतिक रणनीति र स्रोत–साधन परिचालनमा पनि प्रभावशाली उपस्थिति जनाएका छन्।
विनोद चौधरी नेपालको पहिलो अर्बपति उद्यमीका रूपमा चिनिन्छन्। पार्टीका धेरै कार्यक्रम, चुनावी अभियान तथा विपद् व्यवस्थापनमा उनको आर्थिक सहयोगले कांग्रेसलाई बलियो बनाउने भूमिका खेलेको छ। अनौपचारिक रूपमै भए पनि, उनले पार्टीका थुप्रै कार्यक्रमहरूमा आर्थिक सहजीकरण गरेका छन्।
चौधरीको अन्तर्राष्ट्रिय व्यवसायिक सञ्जालले कांग्रेस पार्टीलाई वैदेशिक सम्बन्धमा सहजता ल्याउन मद्दत गरेको छ। विशेषगरी दक्षिण एसियाली मुलुकहरू र व्यापारिक साझेदार राष्ट्रहरूसँग सम्बन्ध विस्तारमा उनको पहुँच लाभदायक भएको छ। हालैको वर्षहरूमा पार्टीभित्र विभिन्न गुटबीच शक्ति सन्तुलन कायम गर्न र इतर समूहको प्रतिनिधित्व सुनिश्चित गर्न चौधरीको भूमिका देखिएको छ। केही निर्णयहरूमा उनको ुमध्यस्थताु प्रभावशाली बनेको बताइन्छ, यद्यपि यसले कहिलेकाहीं विवाद पनि निम्त्याएको छ।
उनको व्यवसायिक पृष्ठभूमि र संसाधनले कांग्रेसभित्र प्रभाव जमाए पनि, केहीले उनलाई राजनीतिक लगानीकर्ताको रूपमा समेत हेर्ने गर्छन्। विनोद चौधरीको योगदान नेपाली कांग्रेसभित्र बहुआयामिक छ। आर्थिक बल प्रदान गर्ने, अन्तर्राष्ट्रिय सहयोग सहज बनाउने र संगठनमा सन्तुलन कायम गर्ने। तर यिनै भूमिकामा पारदर्शिता र राजनीतिक मूल्यमान्यताको रक्षा गर्न नसके आलोचना पनि उस्तै तीव्र बन्ने देखिन्छ।
अर्बपति चौधरीलाई कांग्रेस संस्थापनपक्षले नेतृत्वदायी भूमिका खेल्न सक्ने व्यावासायी तथा नेताका रुपमा चित्रण गर्दै आएको छ । तर कांग्रेस संस्थापन पक्षको नेतृत्वको गरिरहेका डा. शेखर कोइरालाले अर्बपति व्यवसायीसमेत रहेका सांसद विनोद चौधरीलाई केन्द्रीय सदस्यको नियुक्ति प्रक्रियालाई लिएर चर्को आलोचना गरे ।
सोमबार केन्द्रिय समितिको बैठकमा डा. कोइरालाले चौधरीको केन्द्रीय सदस्य नियुक्तिको वैधानिकतामाथि प्रश्न उठाउँदै उनले विधानअनुसार १० वर्षको क्रियाशील सदस्यता अवधि नपुगेको दाबी गरे। जवाफमा मंगलबार चौधरीले कोइरालामाथि प्रत्यक्ष आरोप लगाउँदै, गुटबन्दीको सीमा नाघिएको र पार्टी आधिकारिक उम्मेदवारविरुद्ध चुनावी मैदानमा सहयोगी खटाइएको बताए ।
चौधरीले प्रतिनिधिसभा निर्वाचनका बेला डा. शेखर कोइरालाले लुम्बिनी प्रदेशका महामन्त्री विक्रम खनालसहितका नेताहरू प्रयोग गरेर हृदयेश त्रिपाठीको पक्षमा सक्रियता देखाएको आरोप लगाए। उनले भने, “पार्टीको आधिकारिक उम्मेदवारलाई हराउने काम गर्ने नेताले भोलि पार्टी कसरी हाँक्ने?”
चौधरीले आफू उद्यमी र अर्थतन्त्र बुझेको व्यक्ति भएको उल्लेख गर्दै पार्टीभित्र व्यवसायी पृष्ठभूमि भएकामाथि पूर्वाग्रही दृष्टिकोण राखिएको गुनासो पोखे। उनले भने, “के राजनीति गर्न जेल जानैपर्छ? यदि उद्यमीलाई निषेध गर्ने हो भने केन्द्रीय समितिले ढोका बन्द गर्ने निर्णय गरोस्।”
चौधरीले सभापति शेरबहादुर देउवालाई सम्बोधन गर्दै गुटगत गतिविधिमा संलग्न भएका नेताहरूलाई कारबाही गर्न आग्रह गरे। उनले भने, “गुटको पनि सीमा हुन्छ। पार्टीलाई हानि पुर्याउनेहरूविरुद्ध तत्काल कारबाही आवश्यक छ।” कांग्रेसको आन्तरिक बैठकमा उठेको यो विवादले पार्टीभित्रको गहिरो असन्तुलन र आन्तरिक तनाव उजागर गरिदिएको छ। उद्यमी पृष्ठभूमिबाट आएका नेताको स्वीकार्यता र पार्टीको पुरानो नेतृत्वबीचको दूरी झन् स्पष्ट हुँदै गएको छ। अब सभापति देउवाको धारणा र निर्णयले यस विवादको दिशा तय गर्नेछ।




