काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई गुटविहीन, सुदृढ र समावेशी बनाउने स्पष्ट अठोट दोहोर्याएका छन्। चितवनमा आयोजित प्रजातन्त्र सेनानी गौरीदेवी प्रधानको पुण्यतिथिमा बोल्दै उनले २०८४ को आमनिर्वाचनलाई लक्ष्य गरी पार्टीभित्रको विग्रह अन्त्य गर्दै संगठनलाई चलायमान बनाउनुपर्ने आवश्यकता औंल्याए।
“कांग्रेसभित्र गुट समाप्त गरेर एकताबद्ध ढंगले अघि बढे मात्र आगामी चुनावमा एकल बहुमत सम्भव छ,” देउवाले भने। उनका अनुसार हालको संवैधानिक संरचना अन्तर्गत कुनै पनि पार्टीका लागि बहुमत ल्याउनु चुनौतीपूर्ण छ, तर कांग्रेसले समन्वय, संगठन र शुद्धिकरणमार्फत त्यो सम्भावना सिर्जना गर्न सक्छ।
पाँचपटक प्रधानमन्त्री बनेका देउवाले प्रस्ट रूपमा भने — म यो ठाउँमा पार्टीकै कारण पुगेको हुँ, अब पार्टीलाई बलियो बनाउने बाहेक मेरो अर्को उद्देश्य छैन। उनले कार्यकर्तालाई गुटको मोह त्याग्न र टिकट नपाए पनि पार्टीका निर्णयको सम्मान गर्न आग्रह गरे। कांग्रेस सभापति देउवाले आजदेखि मात्र सो कुरा भनेका होइनन्, पहिलेदेखि नै कांग्रेसलाई गुटविहीन बनाउने अभियानलाई सफल बनाउन सबैको सहकार्य र सम्झौता आवश्यकता रहेको औँल्याउँदै आएका छन् । कांग्रेसका नेता कार्यकता तथा पार्टीले सो विषयमा गम्भिर भएर समिक्षामार्फत सम्झौतालाई स्वीकार गरेर अघि बढेको अवस्थामा नेपाली कांग्रेसको उच्चाई वर्तमान भन्दा भविष्यमा झन बढी उच्च निश्चित नै छ ।
तर, व्यवहारमा पार्टीभित्रको वास्तविकता भने फरक छ। देउवा, पौडेल, सिटौला, कोइराला समूहहरू आ–आफ्ना ‘पावर सर्कल’ मा सीमित छन्, र निर्णय प्रक्रिया गुटगत सहमतिमा निर्भर रहँदै आएको छ। यदि कांग्रेस संस्थापन इतर समुहले सभापति देउवाको दार्शनिक कुरालाई आत्मासात गरेर अघि बढे भने कुनै पनि राजनैतिक दलले कांग्रेसलाई हल्लाउन सक्दैनन् । कांग्रेसभित्रको गुट र उपगुटका कारण अहिले कांग्रेस देशको सबैभन्दा पहिलो र शक्तिशाली पार्टीका रुपमा विश्वसामु उदाए पनि पार्टीभित्रको गुट र उपगुटभित्रको विवादकै कारण कान्छो जस्तो हुनुपरेको छ ।
कांग्रेसले सो विषयलाई मनन् गरेर अघि नबढे नयाँ दलको उदयले निर्वाचनमा बदला लिन सक्ने अनुमान समेत हुन थालेका छन् । विचारविहीन स्पष्ट मार्गदर्शन नभएकाहरुले सामाजिक संजालमा कमाएको लोकप्रियताले निर्वाचनमा बढि सिट ल्याएर सफल भए भने कांग्रेसलाई सभापति देउवाले बोलेको कुरा पछुत्तो लाग्न सक्छ । त्यसले कांग्रेसले एक पटक गहिरोसँग सोच्नु र सम्झौता गर्नुपर्ने बाध्यता देखिन्छ । सबै भन्दा ठूलो र शक्तिशाली पार्टीका रुपमा उदायको कांग्रेसले अहिले पनि नेकपा एमालेसँगको सरकारमा अपमान र तिरस्कार भोग्नु परेको छ । प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले कांग्रेसलाई पेल्दै आएपछि सभापति देउवा कडा रुपमा प्रस्तुत हुन थालेका छन् ।
नेता विमलेन्द्र निधि र डा. शशाङ्क कोइरालाले देउवाको अभियानको समर्थन गर्दै गठबन्धनको यथार्थ स्वीकृति दिएका छन्। वर्तमान संविधानले दलहरूलाई प्रतिनिधित्वको नाममा साझा नेतृत्वमा बाध्य बनाउँछ। यस्तो संरचनामा कांग्रेस एक्लै बहुमत ल्याउने हो भने, त्यो केवल संगठनको एकताको भरमा सम्भव छ।
गौरीदेवी प्रधान र श्यामकृष्ण प्रधानजस्ता पुराना नेता–नेत्रीको योगदानलाई स्मरण गर्दै देउवाले ‘पुराना मूल्य र आदर्श’ बाट प्रेरणा लिन आह्वान गरे। सभापति देउवाले प्रस्तुत गरेको ‘गुटविहीन कांग्रेस’ को खाका संगठनलाई सबल बनाउन चाहने सबैका लागि मार्गदर्शक बन्न सक्छ। तर, केवल भाषण र प्रतिबद्धता पर्याप्त छैन। जबसम्म गुटगत स्वार्थभन्दा माथि उठेर संगठनात्मक सुधार, आन्तरिक लोकतन्त्र, र अनुशासित राजनीति अपनाइँदैन, तबसम्म यो अठोट केवल आशावादमै सीमित हुनेछ।




