देश

तीन न्यायाधीशको इजलासमा पूर्वप्रधानमन्त्री नेपालको बयान सुरु

काठमाडौं।पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल आज विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी मुद्दामा बयान दिन उपस्थित भएका छन्।

न्यायाधीश त्रय तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको संयुक्त इजलासमा उनको बयान लिने प्रक्रिया सुरु भएको हो। नेपाल आज बिहान करिब १०:४५ बजे आफ्ना कानुन व्यवसायीसहित अदालत परिसरमा पुगेका थिए। उनको मुद्दा इजलास नम्बर २ मा तोकिएको हो।

पूर्वप्रधानमन्त्री नेपालले मंगलबार आफैं उपस्थित हुने जानकारी दिएपछि अदालतले आजका लागि पेसी तोकेको थियो। बयान सकिएलगत्तै थुनछेक बहस हुनेछ, जसले उनलाई थुनामा राख्ने कि तारेखमा छाड्ने भन्ने निर्णय गर्नेछ।

नेपालका तर्फबाट वरिष्ठ अधिवक्ताहरूले सामाजिक हैसियत, उमेर र प्रमाण नष्ट गर्ने वा फरार हुने सम्भावना नरहेको भन्दै साधारण तारेखमा मुद्दाको प्रक्रिया अघि बढाउनुपर्ने जिकिर गर्ने तयारी गरेका छन्। उता सरकारी पक्षले भने नेपालमाथि गम्भीर आरोप रहेकाले निष्पक्ष अनुसन्धानका लागि थुनामा राख्नुपर्ने माग गर्नेछ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जेठ २२ गते नेपालसहितका केही व्यक्तिमाथि पतञ्जलि योगपीठलाई हेटौंडामा सरकारी जग्गा सट्टापट्टा गर्दा अनियमितता भएको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो।

प्रधानमन्त्री हुँदा मन्त्रिपरिषद्बाट निर्णय गराएर सरकारी जग्गा सट्टापट्टामा भूमिका खेलेको अभियोग नेपालमाथि छ। आयोगले उनीविरुद्ध १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगोको जरिवाना र सजाय मागदाबी गरेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *