देश

संसद भवन निर्माण ढिलाइप्रति समितिको चासो, तीन दिनभित्र प्रगति विवरण पेस गर्न निर्देशन

काठमाडौं । निर्माणाधीन नयाँ संसद भवनको ढिलाइप्रति चिन्ता व्यक्त गर्दै संघीय संसदको एक संसदीय समितिले तीन दिनभित्र भौतिक प्रगति र कार्यान्वयनको अवस्था स्पष्ट पार्न शहरी विकास मन्त्रालयलाई निर्देशन दिएको छ।

सिंहदरबारमा सोमबार बसेको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको बैठकले संसद भवन निर्माणमा देखिएको सुस्तताबारे गम्भीर चासो व्यक्त गर्दै मन्त्रालयलाई तत्काल स्पष्टीकरण दिन पत्राचार गर्ने निर्णय गरेको हो।

समिति सभापति ठाकुरप्रसाद गैरेले बैठकपछि भने, “पूर्वाधार विकासको कार्यान्वयनमा अत्यधिक समस्या देखिएको छ। यो विषयलाई जानकारहरूसँग खुला छलफलको विषय बनाउने तयारीमा छौं।”

उनका अनुसार समितिले संसद भवन निर्माणको हालसम्मको भौतिक प्रगति, सांसदहरूले उठाएका प्रश्नहरूको कार्यान्वयन अवस्था, तथा निर्माणमा देखिएको ढिलाइका कारणबारे विस्तृत विवरण माग गरेको छ।

गैरेले पूर्वाधार विकासको ढिलाइले आमनागरिक र जनप्रतिनिधि दुवैमा निराशा सिर्जना गरिरहेको भन्दै प्रभावकारी कार्यान्वयनका उपाय खोज्न सरकारसँग समन्वय बढाइने पनि बताए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *