काठमाडौं । ‘भ्रष्टाचारविरुद्धको लडाइँ’, ‘सुशासनका लागि नयाँ विकल्प’, ‘नातावाद र कृपावादको अन्त्य’ — यिनै नारामा जनताको अपार विश्वास बटुलेर उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आज आफैंले बनाएका सिद्धान्तहरूको चिहान खन्दैछ। रवि लामिछाने नेतृत्वको यो दल गठनको तीन वर्षमै बारम्बार आफ्नै बोलिको पछाडि चिप्लिँदै गएको छ, तर आश्चर्यजनक रूपमा पार्टीको अहंकार र आत्मरतीमा भने कुनै कमी आएको देखिँदैन।
रास्वपाको राजनीतिक यात्रा सुशासनका बुलन्द नाराबाट सुरु भयो। तर आजको दिनमा पार्टीकै सभापति रवि लामिछाने जेलमा छन्, थुनामा छन्, र भ्रष्टाचारको गम्भीर आरोप खेपिरहेका छन्। सहकारी घोटालादेखि नक्कली राहदानी प्रकरणसम्म—पार्टीले जति चर्का नारा दिएको छ, त्यति नै ठूलो आफ्नै पाखण्डले आज उसलाई घेरेको छ।
कुनै बेला ‘सफाचट राजनीति’ भन्दै अरूलाई व्यंग्य गर्ने रास्वपाले अब न्यायालयका आदेशलाई पनि ‘राजनीतिक षड्यन्त्र’ भन्दै टार्ने प्रयत्न गर्दैछ। पार्टीको सिंगो नेतृत्व न्यायिक निर्णयमाथि सवाल उठाउन प्रयोग भइरहेको छ—तर रविलाई छाडेर नेतृत्व कसैको मुख खोल्न सक्दैन।
‘कार्यकर्तारहित पार्टी’, ‘टीके संस्कृति अन्त्य’, ‘साधारण सदस्यले सभापति बन्ने बाटो’—यी रास्वपाले बनाएका आकर्षक नीतिहरू अहिले केवल प्रचारका पोस्टरमा सीमित छन्। वास्तविकतामा पार्टीभित्र रविपूजा, टीके पदाधिकारी, शक्ति केन्द्रीकरण र भित्री भयको राजनीति हाबी भइसकेको छ।
डा. मुकुल ढकालजस्तो संस्थापक महामन्त्रीलाई विचार राखेको निहुँमा बर्खास्त गर्नु, सुमना श्रेष्ठ र अनिल केशरी शाहजस्ता नाम चलेका अनुहारहरूको निष्क्रियता—यी सबैले रास्वपा अब रवि लामिछानेकै सत्ता टिकाउने संस्थामा रूपान्तरण भएको संकेत गर्छ। पार्टीले वर्खास्त गरेपनि ढकालको पद अझै महामन्त्रीकै निर्वाचन आयोगमा दर्ता छ । जुन निर्वाचन आयोगले नै भनि सक्यो ।
सत्ता गन्ध मात्रै होइन, स्वाद पनि लाग्छ भन्ने उक्ति रास्वपाको हकमा चरितार्थ भएको छ। भ्रष्टाचारको भण्डाफोर गर्ने भनेर प्रवेश गरेको पार्टी संसदभित्र सत्ताको साझेदार बन्दै ‘मन्त्री म्यानेजमेन्ट’ र ‘भागबन्डा पक्का’ गर्नमै रमाउन थाल्यो। रास्वपाले दुई पटक सरकारमा गएर आफ्नै प्रतिबद्धता दोहोर्याएर कुल्चिएको छ। रास्वपाभित्र दिन प्रतिदिन विभिन्न असन्तुष्टि र गैरकानुनी कार्यका फन्डा र नाराबाजी मात्र होइन अराजकता देखिँदै गएको छ । अहिले संसदमा रास्वपाले संसदलाई सडक बनाइरहेको छ । रास्वपाभित्र पनि गैरकानुनी कार्यमा संलग्न हुनेको संख्या छ ।
अहिले रवि जेलमा छन्, तर पार्टी नेतृत्व भने कार्यवाहकहरूको भरमा चलिरहेको छ। लोकतन्त्र र आन्तरिक सहभागिताको धज्जी उडाउँदै लामिछानेले पार्टीभित्र एकछत्र शासन कायमै राखेका छन्।
रास्वपाले सुरुवातमा कुनै राजनीतिक वादको पक्ष लिएन। बरु वादहरूलाई नै ‘अनावश्यक’ भन्ने रविको अभिव्यक्ति संस्थाको वैचारिक दिशाविहीनताको प्रमाण थियो। पछिल्लो जलेश्वर बैठकमार्फत् लिबरल डेमोक्रेसीको अस्पष्ट व्याख्या गर्दै समाजवादसम्म पुग्ने प्रतिबद्धता राखिए पनि त्यसको कार्यान्वयन वा सैद्धान्तिक स्पष्टता अझै शंकास्पद छ।
रास्वपा अब विकल्प होइन, भ्रम सावित हुँदैछ। तीन वर्षमै पार्टी पुराना दलहरूले दशकौंमा गरेका गल्तीहरूमै तल्लीन भएको छ—तर अझै पनि आत्मआलोचना गर्न नसक्ने, आलोचनालाई षड्यन्त्र भन्न थाल्ने रविको प्रवृत्तिले पार्टीको भविष्य अन्धकारतर्फ धकेलिएको छ। ‘भ्रष्टाचारको अन्त्य गर्ने’ घण्टी अब ‘आफ्ना दोष छोप्ने’ झ्यालको पर्दा बनेको छ। घमण्डको घण्टी भने अझै बजिरहेको छ—रास्वपा चिप्लिंदैछ, तर चेतिँदै छैन।




