काठमाडौं । राजनीतिक तानातानका बीच कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको सम्बन्ध फेरि सहज बन्दै गएको छ। संसद् अवरुद्ध रहेको बेला भएको संवादले संसद्को गतिरोध अन्त्य मात्र गरेन, दुई शीर्ष नेताबीचको विश्वास र सहकार्यलाई पुनः उजागर गरिदिएको छ।
माओवादीले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै संसद् रोकिरहेको थियो। तर बुढानीलकण्ठस्थित देउवा निवासमा जेठ २५ गते भएको भेटपछि सहमति बनेको हो। सहमतिअनुसार माओवादीले आफ्नो माग फिर्ता लिएर संसद् चल्न दिएको छ।
सरकारले अध्यागमन प्रणालीमा सुधार गर्ने र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई स्वतन्त्ररूपमा छानबिन गर्न सहयोग गर्ने सहमति भएको छ। यो सहमतिमा देउवा र दाहालका नजिकका नेता—पूर्णबहादुर खड्का, वर्षमान पुन र शक्ति बस्नेतको भूमिका निर्णायक रह्यो। तर सहमति पश्चात पनि माओवादी उपमहासचिव वर्षमान पुन र उपाध्यक्ष भने संसदको गतिरोध खुलेपछि रास्वपाको विरोधलाई समेत समर्थन गर्दै आएका छन् । सो विषयमा अध्यक्ष प्रचण्ड भने मौन छन् ।
राजनीतिक मतभेदबीच संवादको शैली फरक देखिएको छ। प्रधानमन्त्री ओलीसँग आक्रोशित प्रचण्ड, देउवासँग भने संवादमैत्री देखिँदै आएका छन्। राष्ट्र बैंकको गभर्नर नियुक्ति जस्ता संवेदनशील मुद्दामा पनि दुवै नेताबीच सल्लाह हुने गरेको माओवादी नेताहरूले बताएका छन्। यद्यपि विगतमा केही कटु प्रसंगहरू भए पनि दुवै नेता व्यक्तिगत रूपमा एकअर्काप्रति विश्वासिलो देखिन्छन्। यही विश्वासको डोरले अहिले संसद् खुलाएको छ र सम्भावित सहकार्यको ढोका फेरि खोलिएको संकेत पनि गरेको छ। प्रतिपक्षमा भए पनि सत्ताको भूमिका निर्वाह गर्नु अहिले बाध्यता रहेको उनले बताउदैँ आएका छन् । केही दिन अघि प्रचण्डले संसदमा प्रतिपक्ष दलहरुले गरेको नाराबाजी र अराजकशैलीको खण्डन गर्दै महत्वपूर्ण समयमा सरकारलाई साथ दिनुपर्ने भन्दै अभिव्यक्ति दिएपछि सत्तापक्षले अध्यक्ष प्रचण्डको भूमिकालाई महत्वपूर्ण भन्दै आएका छन् ।




