देश

सुनुवाइ समितिबाट न्यायाधीश नियुक्तिको प्रक्रिया प्रारम्भ, उजुरी दिन सार्वजनिक आह्वान

काठमाडौँ। संघीय संसद्को सुनुवाइ समितिले सर्वोच्च अदालतका तीन न्यायाधीश र न्यायपरिषद्का एक सदस्यका लागि संसदीय सुनुवाइ प्रक्रिया सुरु गरेको छ।

समितिको आज बसेको बैठकले वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेल, उच्च अदालत दिपायलका मुख्य न्यायाधीश शान्तिसिंह थापा, र न्यायपरिषद्का प्रस्तावित सदस्य महेशकुमार नेपालका सम्बन्धमा सुनुवाइ प्रक्रिया अघि बढाउने निर्णय गरेको हो।

सभापति ईश्वरी न्यौपानेका अनुसार, प्रस्तावित व्यक्तिहरूविरुद्ध कुनै उजुरी वा गुनासो भएमा १० दिनभित्र समिति सचिवालयमा पेस गर्न सार्वजनिक सूचना जारी गरिनेछ। उनले स्पष्ट पारे, “उजुरी सचिवालयमा प्रत्यक्ष वा इमेलमार्फत पठाउन सकिने व्यवस्था गरिएको छ।”

प्राप्त उजुरीहरूबारे समितिले उजुरीकर्तासँग पुष्टिकरण लिनेछ भने प्रस्तावित व्यक्तिहरूले संसदीय सुनुवाइका क्रममा आफ्नो कार्य योजना, सोच र अवधारणा प्रस्तुत गर्नेछन्। समितिले सो अवधारणालाई उपयुक्त ठहरेमा उनीहरूको नाम अनुमोदन हुनेछ र नियुक्तिको बाटो खुल्नेछ।

सर्वोच्च अदालतका रिक्त पदहरूमा न्यायपरिषद्ले नाम सिफारिस गरी संसद् सचिवालयमा पठाएको हो। त्यसैगरी, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आगामी असार १० गते रिक्त हुन लागेको न्यायपरिषद् सदस्य पदका लागि सिफारिस गरेको थियो।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *